७ बैशाख २०८१, शुक्रबार
Follow Us

कुलमान घिसिङलाई खुल्ला पत्र

sarusaru
१४ असार २०७५, बिहीबार ०८:२८

नेपाल विद्युत प्राधिकरण प्रमुख
आदरणीय कुलमान घिसिङ ज्यू ,

देशका हरेक क्षेत्रमा रहेर केही गर्ने र नेपाली जनताको भलो चिताउने अनि औँला भाँचेर गन्ने व्यक्तिमा तपाईँ अगाडि नै आउनुहुन्छ । लोडसेडिङको अन्धकारमा गुज्रिरहेको नेपाललाई ‘उज्यालो नेपाल’को अभियान बोकी सिङ्गो नेपाललाई नै लोडसेडिङमुक्त बनाउने पहल तपाईँले गर्नुभयो । साँच्चै त्यसको लागि खुलेर प्रसंशा गर्न मन लाग्छ ,जसको कारण तपाईँका फ्यानहरु पनि बढीरहेका छन् । देश बनाउने जिम्मा लिएका व्यक्ति भनेर कैयौँ पटक मिडियामा र सामाजिक सञ्जालहरुमा तपाईँको नाम आउँदा खुसीले बुर्कुसी मार्नेमा एक व्यक्ति म पनि पर्छु होला !

पछिल्लो समयमा प्रबल रुपमा बल्झिरहेको समस्यामध्ये विजुलीको तार छरपष्ट तथा नाङ्गो तारले हरियोमा छोई वा लिक भई कैयौँले ज्यान गुमाउनु पनि एक हो ।
हुन त विभिन्न प्राकृतिक प्रकोपको कारणले पनि मानिसहरुको मृत्यु भएको छ । भलै त्यसलाई रोक्न त कसले पो सक्छ र ? तर तपाईँ जुन क्षेत्रमा रहेर जनताको सेवा गरिरहनुभएको छ , त्यसै क्षेत्रको कारणले पनि कैयौँ मानिसहरुले कलकलाउँदो उमेरमा नै ज्यान गुमाउनु परेको छ । त्यसको केही रोकथाम गर्न अवश्य सक्नुहुन्छ । हुन त अरु नागरिक जस्तै म पनि चुप बस्न सक्थेँ तर म यो राष्ट्रको एक सचेत र जिम्मेवार नागरिकको हैसियतले मेरो मानवीयताले कोही मान्छे मेरो अगाडि मृत्युसँग लडेर छटपटाइरहेको देख्न दिँदैन र म देख्न सक्दिन पनि ।

नेपालको पछिल्लो तथ्याङ्क अनुसार एक वर्षमा विद्युतीय शक्तिको कारण करिब ५ प्रतिशत मानिसहरुको मृत्यु भएको पाइएको छ । यति धेरै मानिसहरु विद्युतीय शक्तिको कारणले मर्नुमा सरकारको हात हुन्छ अथवा विद्युत प्राधिकरणको ?
यसकै कारण तपाईँजस्तो चर्चामा आएको व्यक्तिको र संस्थाको नाममा प्रश्न चिन्ह खडा नहोस् ।

गएको महिनामा बाग्लुङ जिल्लामा दुई युवतीले यसकै कारण ज्यान गुमाउनुप-यो ,सोही महिनामा कास्कीमा मोटरसाइकल चलाइरहेका युवाको ज्यान गयो । यस्ता हजारौँ घटना छन् ,यी त प्रतिनिधि मात्र हुन् । मैले देखिरहेको छु कैयौँ ठाउँमा विजुलीको नाङ्गो तारलाई हरियो रुखले छोएर त्यहीँबाट करेन्ट प्रवाह भइरहेको तर पटक पटक जानकारी गराउँदा पनि सरोकारवाला व्यक्ति तथा निकायले चासो नदिएको कारण आज तपाईँलाई खुल्ला पत्र लेख्न बाध्य भएँ ।

उदाहरणको लागि सिंहदरबारको दक्षिण गेट साइडमै आएर हेर्नुहोस् ,कसरी रबरप्लान्टले नाङ्गो तारलाई छोएको छ र जनताहरु कसरी त्राही त्राही भएका छन् ,प्रमाण भेट्टाउनुहुनेछ ।
यदि साँच्चिकै जनतालाई उज्यालोमा राख्न र भलो चाहनुहुन्छ भने यसतिर तपाईँको ध्यानाकर्षण गराउन चाहन्छु ।


दीपक शर्मा
नागर्जुन –१० ,काठमाण्डौ ।