६ चैत्र २०८०, मंगलवार
Follow Us

सनातन धर्मसंस्कृति खतरामा

नेपालब्रिटेन संवाददाता
१४ असार २०७५, बिहीबार ०८:५८

विन्दुकान्त घिमिरे
दिवंगत चिकित्सक डा. उपेन्द्र देवकोटाका परिवार तथा आफन्तजनलाई समवेदना प्रकट गर्न दुरदराजबाट समेत सर्वसाधरणको ओहिरो लाग्यो । सात दिनसम्म उनको निवासमा थेगिनसक्नुको भीड जारी रह्यो । परिवार जन भन्दा पनि समवेदना प्रकट गर्न आउनेका आँखामा आँसु थिए । काजक्रियामा रहेका श्रीमती डा मधु , तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले समवेदना प्रकट गर्न आउने भक्कानिएका मनहरुलाई उल्टै संझाइरहेको देखिन्थ्यो ।

काज क्रियाको तेस्रो दिन एउटा यस्तो जमात ज्ञापनपत्र बोकेर आइपुग्यो कि त्यो जमातलाई देखेर समवेदना प्रकट गर्न आउनेहरुको भीड अझ स्तव्ध भयो । त्यो जमातमा केही पुरोहितहरु सामेल थिए । ती पुरोहितहरुको प्रश्न थियो–‘ १३ दिन लगाउनु पर्ने काज क्रिया किन ७ दिनमै सक्न खोज्दै छौ , यस्तो काम हिन्दूधर्म विपरित भएन ?’ यस विषयमा बिवाद गर्न श्रीमती मधु तथा छोरीहरुले चाहेनन् , उनीहरुले आवश्यक पनि ठानेनन् । पण्डितजीलाई नै सोध्नोस् भनेर उनीहरु पन्छिए ।

पण्डितले पनि यस विषयमा बिवाद गर्ने समय यो नरहेको महशुस गर्दै उनीहरुले दिएको ज्ञापनपत्र खोल्तीमा हाले । पण्डित र परिवारले केही प्रतिक्रिया नदिएपछि त्यो जमातले झन होसिँदै १३ दिनको काजक्रिया ७ दिनमा झार्ने सहयोग गर्ने सबै पण्डितलाई सामाजिक बहिस्कार गर्ने फरमान जारी ग¥यो । यो फरमानलाई मिडियाहरुले वास्ता गर्नुपर्ने विषय ठानेनन् । हिन्दू धर्मको रक्षा गर्ने भन्दै हिँडेको यो जमातले यतिबेला समाजिक सञ्जालको चरम दुरुपयोग गरिरहेको छ ।

डा. देवकोटाको निधन भएको दिन असार ४ गते नै न्युरो अस्पतालद्धारा जारी विज्ञाप्तिमा उनको काजक्रिया छोरीहरुले गर्ने र ७ दिनमै काजक्रिया सम्पन्न गर्ने उल्लेख गरिएको थियो । डा. देवकोटा जीवित हुँदा नै सायद यस विषयमा निक्र्योल गरिसकिएको थियो । हिन्दू धर्मशास्त्र अनुसार छोरीले काजक्रिया गर्न हुन्छ कि हुन्न ? काजक्रिया १३ दिन नै बस्नुपर्छ कि ? छोट्याउन पनि सकिन्छ ? भन्ने विषयमा धेरै नै मत मतान्तर छन् । तर स्वयं देवकोटा तथा उनको परिवार पनि हिन्दू धर्मशास्त्रको ज्ञाता हो ।

डा. देवकोटाका बाबु–बाजे पनि गण्डकी क्षेत्रका नाम चलेका पण्डित हुन् । डा. देवकोटाले प्रारम्भिक शिक्षा आफ्ना बाबु–बाजेबाट नै लिएका हुन् । श्रीमती मधु पनि हिन्दू धर्मदर्शन बुझेको दीक्षित परिवारकी छोरी हुन् । तर देवकोटा परिवारले लिएको यो निर्णयका विषयमा यतिबेला एकथरी पुरोहितहरुले अर्नगल हस्तक्षेप सुरु गरेका छन् । मानौ कि डा. देवकोटाको परिवारले हिन्दू धर्म संस्कति माथि ठूलै धावा बोलेको छ ।

संस्कृति तथा परम्परा मुलुकका पहिचान हुन् । यी पहिचान मेटिनु भनेको मुलुककै पहिचान मेटिनु हो । आफ्नो पहिचान मेटिन दिनु हुन्न । तर जडशुत्रवादी चिन्तनले सांस्कृतिक तथा धार्मिक पहिचान जोगाउन सकिन्न । धरातलीय यर्थाथता अनुसार परिमार्जन गर्न सकिएन भने धार्मिक तथा सांस्कृतिक परम्पराहरु लोप हुन्छन् ।

सांस्कृतिक तथा धार्मिक परम्परा मेट्ने प्रयास डा. देवकोटाको परिवारले ग-यो कि ? ज्ञापनपत्र लिएर काजक्रिया बसेको ठाउँमा पुग्ने जमातले गरिरहेको छ ? भन्ने प्रशनको उत्तर यहाँनिर निकै महत्वपूर्ण हुन्छ । चर्चमा जाने बृद्ध–बृद्धाहरुलाई तपाँइ किन क्रिश्चियन बन्नु भयो ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको जवाफ हुन्छ–‘ छोरा भएनन् , सम्पत्ति नभएकोले भतिजाले काजक्रिया गर्दैनौ भने , क्रिश्चियन बनेपछि काजक्रिया गर्नु पर्दैन रे ।’ हुन पनि छोरा नहुने र १३ दिनसम्म काजक्रिया गर्न सक्ने आर्थिक पहुँच नभएका नेपालीको संख्या अहिले पनि उल्लेख्य छ ।

यही कमजोरीलाई टेकर नेपालमा इशाइकरण भएको छ । डा. देवकोटा परिवारले दिएको यो सन्देशले इशाइकरण रोक्न निश्चयनै मद्दत पु-याउनेछ । यतिबेला सनातन नेपाली धर्म संस्कृति माथि इशाईहरुको खुलेआम आक्रमण भइरहेको छ र त्यो आक्रमणका लागि वातावरण बनाउने काममा केही पुरोहितहरुको जमात सक्रीय छ । इशाईहरुबाट भन्दा पनि छोरा नहुनेहरुको क्रिया गरे वापत र क्रिया गराए वापत हुने आम्दानीको प्रलोभनमा जडशुत्रवादलाई जिवित राख्ने खोज्ने पुरोहित वर्गबाट नेपालको सनातन धर्मसंस्कृति खतरामा परेको छ ।
तस्बिर : देशसञ्चारबाट लिइएको हो ।