१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज १५औं राष्ट्रिय धान दिवस मनाइँदै

नेपालब्रिटेन संवाददाता
१५ असार २०७५, शुक्रबार ०४:५२

काठमाडौं । नेपालमा आज १५औं राष्ट्रिय धान दिवस मनाईँदै छ । यो वर्ष, राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको सम्वृद्धि’ राखिएको छ । हरेक वर्ष असार १५ गतेलाई धान दिवसको रुपमा मनाउने गरिएको छ । अर्को तर्फ यो दिनलाई दही च्यूरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ ।

किसानलाई धान उत्पादनतर्फ प्रेरित गर्न प्रत्येक वर्ष धान दिवस मनाउने गरिए पनि उत्पादन बढाउन नसक्दा वार्षिक अरबौँ रुपैँयाको चामल आयात गर्नु परिरहेको छ ।

सरकारले चामललगायत खाद्य वस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि यो आर्थिक वर्ष २०७४–०७५ मा साढे २४ अरबको चामल आयात भएको छ । गएको वैशाखसम्म चीन, भारत, थाइल्याण्ड, जापान, इटली लगायत मुलुकबाट २४ अरब ४९ करोडको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।

कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरेपनि प्रतिफल कमजोर छ । मौसमले साथ दिँदा गएको आर्थिक वर्षमा २२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । नेपालको कुल जनसंख्यालाई अझै ९ लाख मेट्रिक टन चामल अपुग छ ।