१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

नेपालब्रिटेन संवाददाता
१५ असार २०७५, शुक्रबार १४:५४

काठमाडौं । मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उहाँ क्रियाशील हुनुहुन्छ ।

मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको सङ्घर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गर्नुभएको थियो । उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्घर्ष गर्न विश्वभरका सरकारहरूले गरेका प्रयत्नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मानव बेचबिखन उन्मूलनको दिशामा नेपाल सरकारले प्रगति गरेको कुरा प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा भनिएको छ–मानव बेचबिखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्न बढाएको छ । साथै, कानुन कार्यान्वयन तथा पीडित संरक्षणसम्बन्धी प्रयत्नमा समेत केही सुधार भएको छ ।

मानव बेचबिखनको उन्मूलनका न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि नेपालले गर्नुपर्ने सुधारसम्बन्धी सिफारिस पनि प्रतिवेदनले प्रस्तुत गरेको छ ।

प्रतिवेदनमा सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको र यसबाट नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो जारी प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्ने भनिएको छ । पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।