११ बैशाख २०८१, मंगलवार
Follow Us

रामचन्द्र बचाउ अभियानको जगेडा रकम एनआरएनको कल्याणकारी कोष

नेपालब्रिटेन डट कम्
१५ असार २०७५, शुक्रबार १८:०१

काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरवमा सडक दुर्घटनामा परेका रामचन्द्र तिमिल्सनाको लागि ब्लड मनीवापत संकलीत रकममध्ये जगेडा रकम एनआरएनको कल्याणकारी कोषमा ल्याउने विषयमा समझदारी भएको छ । रामचन्द्र बचाउ अभियानको समयमा संकलीत रकम पनौती नगरपालिकाको जिम्मामा रहँदै आएकोमा सो रकम एनआरएनको कल्याणकारी कोषमा ल्याइने विषयमा समझदारी भएको हो ।

जगेडा रकम वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकाको नाममा खर्च गरिने समझदारी गरिएको हो । एनआरएनको वैदेशिक रोजगार कल्याणकारी कोषको उपसमिति र पनौती नगरपालिकाबीच वैदेशिक रोजगारीको सिलसिलामा विपत्तमा परेकालाई सो रकम खर्चिने सम्झदारी भएको हो । शुक्रबार एनआरएन सहकोषाध्यक्ष एवं उपसमिति संयोजक सोम सापकोटा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानेबीच सो समझदारी भएको हो ।

रामचन्द्र बचाउ अभियानमा संकलीत रकममध्ये ३७ लाख १८ हजार पनौती नगरपालिका अन्र्तगत जगेडा कोषमा रहँदै आएको छ । सो रकम एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोष उपसमितिको पहलमा आज पनौती नगरपालिका भएको छलफलका क्रममा नगरपालिकाले वैदेशिक रोजगारीको क्रममा पीडामा परेका कुनै पनि ब्यक्तीको लागि खर्च गर्न तयार भएको हो ।

पनौती नगरपालिका प्रमुख न्यापानेले वैदेशिक रोजगारीको क्रममा रामचन्द्र जस्ता धेरै हुन सक्ने र उनीहरुको विपत्तमा सो रकम खर्च गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले एनआरएनसँग सहकार्य गरेर जगेडा कोषको रकम यस्ता कुनै पनि केसमा खर्च गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

सो क्रममा एनआरएन सहकोषाध्यक्ष एवं वैदेशिक रोजगार कल्याणकारी उसमितिका संयोजक सापकोटाले जगेडा कोषलाई वैदेशिक रोजगारीको क्रममा रामचन्द्र जस्तै विपत्तमा परेकालाई खर्च गर्ने गरि पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले यस्ता अन्य संकलीत रकमको पनि खोजी गर्ने कार्य शूरु गरिने जानकारी दिनुभयो ।

साउदी अरव जेलबाट छुटेर आएका रामचन्द्रले आफनो लागि संकलीत रकममध्येको जगेडा कोषलाई आफूजस्तै वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकाको लागि खर्चीनुपर्ने बताउनुभयो । सो कार्यक्रममा पनौती नगरपालिकाका कार्यकारी प्रमुख ध्यानकुमार थापा, चितवन युवा समूह अन्तराष्टिय समन्वय समिति सचिव गणेश ढकाल, पनौती नगरपालिका वडा नं ८ का वडाध्यक्ष केशव बञ्जारलगायतको उपस्थिति थियो ।

काभ्रे पनौती नगरपालिका-३ घिमिरे गाउँका रामचन्द्र साउदीमा रोजगारीको सिलसिलामा सडक दुर्घटनामा परि २७ महिना १३ दिन जेल पर्नुभएको थियो । रामचन्दले ब्लड मनीवापत ४५ लाख रुपैयाँ तीर्न नसकेपछि जेल चलान गरिएको थियो । जेल परेसँगै एनआरएनले रामचन्द्र बचाउ अभियान सञ्चालन गरेको थियो । एनआरएनले रामचन्द्रले तीर्नु पर्ने रकम बुझाएपछि २०७४ साउन १५ गते जेलबाट छुटेर स्वेदश फीर्ता हुनुभएको थियो ।