१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार एवं साहित्यकार थपलियाको निधन

नेपालब्रिटेन संवाददाता
१६ असार २०७५, शनिबार ०५:२५

काठमाडौं । साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षका उमेरमा हिजो शुक्रबार ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ । ‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना हुनुभएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उहाँका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए । उहाँले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गर्नुभएको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिनुभएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उहाँको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । उहाँले विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गर्नुभएको थियो ।

प्रतिष्ठानका महासचिव माधव निर्दाषले शोक विज्ञप्ति जारी गरी थपलियाले मौलिक साहित्य र सिर्जनात्मक पत्रकारितामा दिएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ । थपलियाको हिजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । उहाँका श्रीमती र दुई छोरी छन् ।