शान्ता प्रसाई थेबे, सामाजिक अभियान्ता
घरेलु हिंसाविरुद्ध अभियान सञ्चालन गरेकी शान्ता प्रसाईं थेबे समाज परिवर्तनको अभियानमा जुटेकी छन् । घरेलु हिंसाले समाजमा विकराल अवस्था सिर्जना गरेकाले परिवर्तनका लागि आफू संस्थागत रूपमा यो क्षेत्रमा लागेको उनी बताउँछिन् । पारिवारिक बाध्यता र स्वास्थ्यले समयमा उच्च शिक्षा हासिल गर्न अवरोध भए पनि अहिले निरन्तरता दिइरहेकी शान्तासँग कुमार राउतले गरेको कुराकानी :

० ‘नेपाल नारी चेतनशील’ ले के गर्छ ?
– विशेष गरी हामी घरेलु हिंसामा परेका महिलालाई सहयोग गर्छाैं । हिंसा सहन बाध्य भएका महिलाका मुद्दामा वकालत गर्छौं । घरेलु झगडाले निम्त्याएको हिंसालाई न्यूनीकरण गर्ने भूमिका निर्वाह गछौं ।

० कस्ता कस्ता हिंसा बढी पाइयो ?
– श्रीमान् जाँड खाएर आउने, श्रीमतीलाई दुव्र्यवहार गर्ने तथा पुरुषले बहुविवाह गरेपछि जेठी श्रीमतीलाई कुटपिट गर्ने घटना बढी देखिएका छन् ।

० कस्तो परिवारमा हिंसा भएको पाइन्छ ?
– हिंसामा एकै किसिमको परिवार पाइँदैन । धनाढ्य परिवारमा सुषुप्त ढंगले हिंसा भएको भेटियो । त्यसपछि कमजोर आयआर्जन भएको परिवारमा विशेष गरेर मादक पदार्थ सेवा गरेर श्रीमती कुट्नेहरू धेरै हुँदा रहेछन् । मध्यम परिवारमा यस्तो घटना थोरै हुँदो रहेछ ।

० किन यस्तो हिंसा हुँदो रहेछ ?
– पुरुषहरूले परस्त्री मन पराउँछन्, महिलाहरू सबै कुरा बाँड्न सक्छन्, तर श्रीमान् बाँड्न सक्दैनन् । यही द्वन्द्वको परिणामस्वरूप हिंसा सिर्जना भएको पाइयो ।

० यस्तो घटनालाई कसरी मिलाउनु ?
– भरसक दुवै पक्षलाई मिलेर जान सुझाइन्छ । यदि उनीहरू मिलेर जान सकेनन् भने अदालती प्रक्रियाबाट छुट्टाएर ससम्मान जीवन बिताउने वातावरण बनाइदिन्छौं । तर हाम्रो प्राथमिकता छुटाउनेभन्दा पनि मिलेर जाउन भन्ने हुन्छ ।

० हिंसामा पुरुष नै दोषी हुन्छन् ?
– सम्पूर्ण दोष पुरुषलाई मात्र दिन मिल्दैन । महिलाहरूको पनि कमजोरी भेटिन्छ । परिवारमा दुवै अनुशासित भए त्यस्तो हिंसा हुँदैन । अथवा दुईमध्ये एकजना नरम भइदिए पनि हिंसाले स्थान पाउँदैन ।

० कुनै त्यस्ता उदाहरण छन् ?
– यही क्षेत्रमा काम गर्ने भएकाले दैनिक यस्ता केस आइरहेकै हुन्छन् । हामीसँग धेरै उदाहरण छन् ।

० एउटा घटना बताइदिनुस् न ?
– यसै साता कपनको एउटा घटना हामीले मिलादिएका थियौं । छोराछोरी हुर्किसकेका रहेछन् । श्रीमान् अर्कै केटीसँग सल्केका रहेछन् । उनी प्रायः बाहिरै रमाउँदा रहेछन् । राति घर आएपछि त्यत्रा हुर्केका छोराछोरीका अगाडि आमालाई कुट्ने, तनाव दिने गर्दा रहेछन् ।

० महिला सचेत हुने हो भने त यस्ता घटना नहुने रहेछ ?
– घरपरिवार भएको व्यक्तिसँग तेस्रो महिलाले सम्बन्ध नराख्ने हो भने यस्ता घटना न्यून हुने थियो । तर कतिपय महिला पनि बाध्यताले परपुरुषसँग सम्बन्ध राख्दा रहेछन् । अरुको घरपरिवारको ख्याल नराख्ने महिलाका कारण समस्या सिर्जना भइरहेको छ ।

० घरेलु हिंसाविरुद्ध काम गर्ने पे्ररणा कहाँबाट पाउनुभयो ?
– म आफू अरुको दुःख देख्न सक्दिनँ । म आफू त बाँचेको छु, तर अरुलाई पनि सहज जीवन बाँच्न सहयोग गर्न सक्छु भनेर यो क्षेत्रमा लागेकी हुँ । यो क्षेत्रमा काम गर्न चाहिँ मलाई श्रीमान्ले पे्ररित गर्नुभएको हो । परिवारको सपोर्ट भएन भने समाजसेवामा लाग्न महिलालाई त्यति सजिलो छैन ।

० संस्था चाहिँ कसरी चलेको गरेको छ ?
– दिदीबहिनीको आँशु पुछ्न हामीले संस्था स्थापना गरेका हौं । नहुने घटना भएपछि त्यसलाई अदालती प्रक्रियामा जानुभन्दा हामी मिलापत्र गरिदिन्छौं । यदि न्यायालय नै जानुपर्ने भए पनि हामी सहयोग गर्छौं ।

० मिल्ने बढी आउँछन् कि छुट्टिने ?
– भोलि एकअर्कालाई आवश्यकता पर्छ, त्यसैले सबैभन्दा पहिला हामी मिल्नुको विकल्प देखाउँदैनौं । छुट्टिनु भनेको घर न घाटको हुनु हो । त्यति गर्दा पनि छुट्टिन खोजे भने न्यायलयसम्मको प्रक्रिया हामी अघि बढाइदिन्छौं ।

० कानुन विषय नै अध्ययन गर्नुभएको हो ?
– होइन, अब कानुन पढ्छु । मैले यही वर्ष एसईई दिएकी थिएँ । मेरो २०५० सालको एसएलसी थियो, विवाह भयो, छोराछोरी हुर्काउन लागें, त्यसपछि एक दशकसम्म विरामी परेर ओछ्यानमा थलिएँ । श्रीमान्को पे्ररणाले यस वर्ष एसईई दिएकी हुँ ।

० एसएलसी दिन छाडेर विवाह गर्नुभयो ?
– माया बस्यो, त्यो बेलाको उरन्ठेउले बुद्धि, पढ्नभन्दा विवाह गर्नतिर लागियो ।

० पे्रम विवाह हो ?
– हो, म बाहुनकी छोरी उहाँ लिम्बू समुदायको हुनुहुन्छ । त्यस्तै, डेढ वर्ष जति लभ परेपछि हामीले विवाह गरेका हौं ।

० के थियो, उहाँमा आकर्षण ?
– घर नजिकै थियो, मन परेपछि सकियो ।

० कसले प्रेम प्रस्ताव राख्यो ?
– कुरो धेरै अगाडिको भएकाले सम्झनुपर्छ, अहिले बिर्सें ।

० विवाह सजिलै भयो ?
– कहाँ हुनू, धेरै संघर्ष गर्नुप¥यो । हामीले भागेर विवाह ग-यौं । म मामाघरमा थिएँ, पछि बुवा–आमाले हाम्रो विवाहलाई स्वीकार गर्नुभयो । अरुको हेरी अभिभावकले हाम्रो विवाहलाई सहज रूपमा लिनुभयो ।

० घरमा एडजस्ट हुन सजिलो भयो ?
– घर चाहिँ समावेशी टाइपको परिवार थियो । त्यसैले एडजस्ट हुन त्यस्तो अप्ठ्यारो भएन ।

० समावेशी परिवार भनेको ?
– ६ जना छोरा, चार दिदीबहिनी हुनुहुन्थ्यो । छोराहरू कसैले श्रेष्ठ, कसैले भुजेल, म बाहुनी परें । कुनै छोरी बाहुनले विवाह गरेका थिए ।

० लिम्बू भाषा बोल्न आउँछ ?
– मलाई त के श्रीमान्लाई समेत लिम्बू भाषा बोल्न आउँदैन । घरमा लिम्बू भाषा प्रयोग नभएपछि छोराछोरीले बोल्ने कुरै भएन ।

० छोराछोरी कति ?
– दुई छोरी, एक छोरा । ठूलो छोरी युरोपमा छिन् । छोरा पढ्दैछ, कान्छी छोरीले नौ वर्षमै ब्लाकबेल्ट लिइन् । नृत्यमा पनि
उनको सौख छ, पढाइमा अब्बल छिन् ।

० श्रीमान् के गर्नुहुन्छ ?
– शिक्षण पेसाबाट अवकाश लिनुभएको हो । अहिले पनि कमाएर खुवाइ राख्नुभएको छ ।

० मास्टरकी श्रीमती भएर पढ्न ढिलो भएजस्तो लागेन ?
– मेरो बाध्यता थियो, व्यस्तता र स्वास्थ्यले साथ नदिएकाले समयमा पढ्न सकिनँ । अहिले उहाँकै पे्ररणाले पढन थालेकी हुँ ।

० लामो समयसम्म विरामी हुनुभयो ।
– हो, दस वर्ष ओछ्यान परें । इसाई धर्म अपनाएपछि रोगले छाड्यो । अहिले हाम्रो परिवार प्रभुमा विश्वास गर्छ ।

० अन्तर्जातीय विवाहको राम्रो पक्ष ?
– खुसी छु, रुपैयाँ पैसामा कमजोर भए पनि घरपरिवार रमाइलो छ । घर माइतीको सपोर्ट छ ।

० नराम्रो पक्ष नि ?
– त्यस्तो नराम्रो पक्ष केही छैन । तर बाहुनकी छोरी लिम्बूसँग गई भनेर कुरा काट्छन् ।