८ बैशाख २०८१, शनिबार
Follow Us

बाजेको सेकुवा वरपर दुगन्ध फैलियो

नेपालब्रिटेन संवाददाता
१७ असार २०७५, आईतवार १३:५९

काठमाडौं । अनामनगरस्थित बाजेको सेकुवा वरपर दुगन्ध फैलिएको छ । बाजेको सुकेवा नजिकै रहेको चिया पसलमा आउने ग्राहकले रेस्टुरेन्टबाट दुर्गन्ध फैलिएको बताए । चिया पसले विष्णुमाया योङहाङले रेस्टुरेन्टबाट दुर्गन्ध फैलिएपछि ग्राहक आउन छाडेको बताइन् । उनले भनिन, ‘दुर्गन्धले गर्दा यहाँ चिया खाजा खान रुचाउँदैनन् ।’ अनामनगरमा ‘ग्रीन टी’ का लागि चर्चित उनको पसलको व्यापार आधा घटेको योङहाङले बताइन् ।

बाजेको सेकुवाका मालिक चेतन भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि सरकारले गत जेठ ३० गते बाजेका सेकुवाको ६ वटा आउटलेटमा एकैपटक छापा मारेर शिलबन्दी गरेको थियो । पूर्वसूचना बिनै छापा मारेर शिलबन्दी गरेकाले रेस्टुरेन्टका लागि ल्याइएको खाद्यन्न र मासु कुहिएर दुगन्ध फैलिएको बताइएको छ ।

दैनिक ३ वटा खसी खपत हुने उक्त रेस्टुरेन्टमा सरकारले शिलबन्दी गर्नुअघि सम्पूर्ण खाद्य सामग्री र मासु ल्याइएको रेस्टुरेन्टका एक कर्मचारीले बताए । उनले भने, खाद्य सामग्री र मासु जे जुन अवस्थामा थियो, त्यही छोडेर हामीलाई बाहिर निकालियो र शिलबन्दी गरियो । आइसक्रिम चाहिँ सबैले खाएर सिध्याए अन्य सामग्री चलाउन पाइएन ।’

काठमाडौंमा रहेको बाजेको सेकुवाको ६ वटा आउटलेटमा दैनिक ३० वटा खसी खपत हुने गरेको ती कर्मचारीले बताउँछन् । सबैभन्दा बढी बत्तिसपुतलीको रेस्टुरेन्टमा सुकुवा खपत हुने उनले बताए । अनामनगरमा दैनिक साढे दुईदेखि ३ लाख रुपैयाँको व्यापार हुने गरेको र बत्तिसपुतलीमा दैनिक ७ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको जानकारी उनले दिए ।

बाजेका सेकुवाका मालिक भण्डारी यतिबेला फरारको सूचिमा छन् । भण्डारीको सपरिवार यतिबेला सम्पर्कमा छैन भने भने झन्डै दुई सयभन्दा बढी कर्मचारीको बिल्लीबाड भएको छ ।