१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुःखपछि सुख साट्न नेपथ्य टोकियोमा

नेपालब्रिटेन डट कम्
१७ असार २०७५, आईतवार २१:५३

काठमाडौं। तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग विदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए ।

त्यतिबेला नेपालमा भर्खरै महाभूकम्प गएको थियो । पूर्वनिर्धारित कार्यक्रम भएकाले गर्नैपर्ने अवस्था आइपरेपछि ब्याण्डले भूकम्प पीडितलाई नै समर्पित गर्दै त्यो कन्सर्ट सम्पन्न गरिदिएको थियो । त्यस कन्सर्टबाट उठेको रकमबाट नेपथ्यले त्यतिबेलै भूकम्प राहतको लागि सहयोग गरेको थियो ।

‘यसपटक मनोरञ्जन होइन, समवेदना बाँड्न आयौं,’ नेपथ्यका सर्वाधिक रुचाइएका गीतहरु नै नगाइएको त्यस कन्सर्टको समाप्तीमा अमृतले भनेका थिए, ‘तपाइहरुलाई छमछमी नचाउन फेरि भब्य तयारीको साथ छिट्टै जापान आउने छौं ।’

र, यसै साता त्यो वाचा पुरा हुनेभएको छ । जापानकै महत्वपूर्ण कन्सर्ट आयोजनास्थलमा यसपाला नेपथ्य प्रस्तुत हुनगइरहेको छ ।

यसै जुलाइको सात तारिख शनिबारका दिन राजधानी टोकियो स्थित ‘टोकियो डोम सिटी हल’मा नेपथ्यका सर्वकालीक हिट गीतहरु गुञ्जिने भएका छन् । ‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको त्यस हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ जडित छ जसबाट निस्केका आवाजलाई अझ विशेष बनाउन ‘साउण्ड एब्जर्बिङ अकोस्टिक वाल’ लगाइएको छ ।

नेपथ्यको जीवनकालमा जापान धेरै अर्थमा उल्लेखनीय छ । ब्याण्डको संघर्षकालीन थुप्रै कथाहरु त्यस भूमिमै उभिएका थिए । टिकट काटेका औंलामा गन्नसकिने दर्शकहरुलाई फर्काउन नमिल्ने भएपछि खाली हलमै कन्सर्ट गर्दाको पीडादायी अनुभव त्यहीँ भएको थियो । त्यसैगरि प्रस्तुतीका निम्ति गएका सदस्यहरु उतै बसिदिएपछि ब्याण्ड झण्डै विघटनकै अवस्थामासमेत पुगेको थियो । यसरी अत्यन्त दुःख पाएका दिनहरुमा माया गर्ने आफन्तहरु पनि यो ब्याण्डले जापानमै कमाएको छ ।

‘यसरी सुख दुःखका कथाहरु भएको ठाउँसँग आत्मीय साइनो हुँदोरहेछ,’ गायक अमृत गुरुङ भन्छन्, ‘हरेकपटक जापान टेक्दा मलाइ मेरो दोश्रो घरमा पुगेको अनुभूति हुन्छ ।’

ब्याण्डको प्रारम्भिक दिनहरु संघर्षमय थिए । त्यतिबेला सामान्य हलहरुमा सीमित नेपथ्यको यात्रा यसपाला ‘टोकियो डोम’ सम्म पु¥याउन सकिएकोमा उनी सन्तोष मान्छन् ।

यो कन्सर्टलाई ‘गोरेटो प्रोडक्शन’ले आयोजना गरेको हो ।

‘अघिल्लोपटक जापान आउँदा कुनै पनि रोमान्टिक गीत प्रस्तुत नगरेको नेपथ्यलाई फेरि सुन्नको निम्ति टोकियोका दर्शकहरु इच्छुक छन्,’ आयोजक कृष्ण थापा भन्छन्, ‘दर्शक रुचीलाई ध्यानमै राखेर भब्य प्रस्तुतीको निम्ति सम्पूर्ण बन्दोबस्त मिलाएका छौं ।’

अघिल्लोपटक टोकियोमा कन्सर्ट गर्दा जापानी मूलकै दर्शकहरु हलमा देखिएका थिए । त्यतिबेला जापानकै अग्रणी एनएचके टेलिभिजनले कन्सर्टको अघिल्लो दिनमात्रै गायक अमृत गुरुङ र नेपथ्यमा आधारित कार्यक्रम समाचारसँगैको ‘प्राइम टाइम’ मै प्रस्तुत गरेको थियो ।

‘त्यो दुःखका बेला आयोजना पनि दुःखै बाँड्ने हिसाबले भएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला ब्याण्डकै रजत महोत्सव समेत पारेर जापान पुग्ने नेपथ्यले पहिले जस्तै दर्शकहरुलाई उफार्ने छ ।’

जापानको यो पछिल्लो भ्रमणमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

भ्रमणदलमा मुख्य गायक अमृत लगायत १० सदस्य सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ ।

टोकियोको कार्यक्रम पछी नेपथ्य टोली जुलाई १० तारिखमा काठमाडौं फर्किने छ ।