८ बैशाख २०८१, शनिबार
Follow Us

प्रवासीद्वारा विद्यालय निर्माण

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार ०५:२४

बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ ।

गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । रु २५ लाखको लागतमा निर्मित चार कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि उक्त भवन समाजका तर्फबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन निर्माण गरिएको समाजका अध्यक्ष थापाले बताउनुभयो । अंग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा गरिएको सांगीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय बनाउन खर्च गरिएको उहाँको भनाइ छ ।

भवन नभएपछि बालबालिकाले खुला चौरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले गत वर्षको असारदेखि भवन निर्माण शुरु गरेको थियो । भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण गरेर समाजले प्रशसंनीय कार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद गौतमले बताउनुभयो ।

समाजले बागलुङ जिल्लाका केही स्वास्थ्य संस्थालाई एम्बुलेन्सलगायतका महँगा स्वास्थ्य उपकरणसमेत सहयोग गरेको छ । शैक्षिक क्षेत्र, प्राकृतिक प्रकोपका बेलासमेत आर्थिकलगायतका विभिन्नखाले सहयोगमा समाज सक्रिय छ । गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमै समेत क्रियाशील छ ।