१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीको नियमित भेटघाटमा

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार ०५:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँग नियमित भेटघाट शुरु गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गर्नुभएको हो । हिजो दिउँसो ३ः३० देखि ५ बजेसम्म प्रदेश नम्बर १ का सांसदहरुसँग छलफल भएकोे थियो
भेटघाटमा प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने, सरकारका कामकारबाहीबारे जनतामा सन्देश प्रवाह गर्ने काम सांसदहरुले गर्नुपर्ने उल्लेख गर्दै बजेट विनियोजनमा केही कमीकमजोरी भए त्यसलाई आगामी वर्षको बजेटमा सच्याइनेछ भन्नुभयो ।

‘अहिले जस्तो जनताप्रति जिम्मेवारी भएको सरकार विगतमा थिएनन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “किनकी यो सरकार बहुमतको हो । यसको जनताप्रतिको उत्तरदायित्व पनि त्यतिकै धेरै छ ।”

नेपाल नयाँ ठाउँमा भएकाले यस्तो अवस्थामा केही चुुनौती भए पनि देशलाई अघि बढाउने सम्भावना अधिक भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘विगतमा व्यवस्था परिवर्तन, संगठन निर्माण र प्रचारका काम धेरै गरियो । अब त्यतिले पुग्दैन । जनताले देखिने गरी परिणाम दिनुपर्दछ, उहाँले भन्नुभयो, ‘हिजो भ्रष्टाचार रोक्नुपर्छ भन्दा हुन्थ्यो तर आज भ्रष्टाचार साँच्चीकै रोक्ने जिम्मेवारी हामीमा छ ।’

आगामी असोज ३ गतेभित्र संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानूनको निर्माण भइसक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई आधुनिक प्रविधिसँग परिचित हुन र सूचनामा अद्यावधिक रहन पनि आग्रह गर्नुभयो ।