१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाढीको खतरा, भोलिसम्म वर्षा हुने

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार ०५:४२

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा भोलीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले भोली सम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

भोली सम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा-बाढी पूर्वानुमान शाखाले पनि बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ ।

यस्तै, मौसम विभागले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरेको छ । कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्दो क्रममा रहेको छ । कमला नदी जलाधारको केही स्थानमा भारी वर्षा भइसकेकाले बहाव एक्कासि बढ्ने र घट्ने अनुमान गरिए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।