१२ बैशाख २०८१, बुधबार
Follow Us

एक खेप सुन ओसारेवापत रु पचास हजार

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार १४:२८

काठमाडौं । चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एकखेपको रु ५० हजार लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

सो अवसरमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत एकपटकमा रु ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

“सुन स्वयम्भुसम्म पु-याउने र स्वयम्भुमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनीया व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको छ,”–उहाँले भन्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौँलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताउनुभयो ।

उहाँले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिनुभयो ।

परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको परिसरले जनाएको छ ।

भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) बमोजिम अवैध रुपमा सुन ओसारपसार गर्नेलाई विगो र एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।