१५ चैत्र २०८०, बिहीबार
Follow Us

बाढी–पहिरोमा परी ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार ०४:५९

काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबान भएको क्षेत्रका पीडितहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्, भने सरकारको उद्धार प्रयास फितलो देखिएको छ।

आइतबार अस्ति र हिजो देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् ।

रोल्पा र बाँकेमा बाढी–पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको छ ।

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् ।