१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुईवटै मिर्गौलामा समस्या हुँदा सहयोगको याचना

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार ०५:२१

काठमाडौं । भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गाैला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै आउनुभएकी कार्की विगत सात महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ ।

विसं २०७२ मा पटकपटक गएको भूकम्पबाट दोलखाकै सिंगटीलाई केन्द्र बनाएर गएको भूकम्पले उहाँको घर पूरै ध्वस्त बनाएको थियो ।

छोरा रवि कार्कीले आमालाई सञ्चो नभएपछि अस्पताल ल्याउँदा चिकित्सकले दुवै मिर्गाैलाले काम गर्न नसक्ने बताएपछि परिवारमा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पबाट विस्तारै तग्रिँदै थियौँ, आमा बिरामी भएपछि उपचारमा सबै ऋण सकियो, अब केही बाँकी छैन । आर्थिक अभावकै कारण आमाको ज्यान जाने भयो, सहयोगको लागि सबैसँग अपेक्षा गरेका छौँ ।”

प्रत्येक हप्ता एक पटक डायलाइसिस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डायलाइसिस गर्नुपर्छ तर आर्थिक अभावका कारण उपचार नै रोकिएकाले सहयोगका लागि सबैसँग छोरी सुस्मिताले आग्रह गर्नुभयो ।

पति बालकृष्णले मजदूरी गरेर घर खर्च चलाउनुका साथै छोराछोरीलाई पढाउँदै आउनुभएको थियो ।