१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गंगामायालाई तत्काल न्याय देऊ : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार १०:१६

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग राख्दै आमरण अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वीर अस्पताल पुगेका छन् । महिना दिनभन्दा लामो समय देखि आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ ।

छोराको हत्यामा संलग्न भएको व्यक्तिलाई पक्रेर कार्वाही थाल्न सर्वोच्च अदालतलसमेतले आदेश दिइसकेका सन्दर्भमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै उनी अनशनमा छिन्. ।

तर वर्षौसम्म वीर अस्पतालमा रहँदा पनि उहाँको माग कुनै सरकारले पनि पूरा गरेको छैन । कांग्रेस, एमाले र माओवादीका अलग अलग सरकार बन्दा पनि गंगामायाको माग कसैले पनि पूरा गरेनन् । अधिकारीको स्वास्थ्यमा जुनसुकै अवस्थामा तलवितल पर्नसक्ने अवस्था हुँदा पनि वर्तमान प्रधानमन्त्री केपी ओलीदेखि राज्यका सबै निकाय मौन छन् ।

प्रतिपक्षमा पुगेको कांग्रेसका नेता भने केही दिनदेखि गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगिरहेका छन् । यसै क्रममा वीर अस्पताल पुगेका नेता पौडेलले अधिकारीको हत्या द्वन्द्व कारण नभई व्यक्तिगत रिसिवीबाट गरिएको भन्दै दोषीलाई कार्वाही गर्न माग गरे । मानवअधिकारको रक्षाका लागि सरकार संवेदनशील नभएको उनको भनाइ थियो ।

पटक पटक सरकारको नेतृत्वमा रहँदा अधिकारीको माग कार्यान्वयन नगरेको कांग्रेसका नेता पौडेलले आफ्नो पार्टी यसबारेमा संवेदनशील रहेको भन्न नछुटाउँदै हत्यारालाई कुनै पनि हालतमा नछाड्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसी र डा.शेखर कोइराला पनि अस्पताल पुगेर गंगामायाको स्वास्थ्य अवस्था बुझ्नु भएको थियो ।