६ बैशाख २०८१, बिहीबार
Follow Us

रुखबिनाको जीवन अधुरो, प्रेमबिनाको जीवन मधुरो

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार १४:१५

धनकुमारी थापा (सरु), लोक दोहोरी गायिका

गायिका धनकुमारी थापा (सरु) आफूलाई पहिलो महिला दोहोरी सञ्चालक भएको दाबी गर्छिन् । झन्डै दुई दशकअघिदेखि उनी यो व्यवसायमा छिन् । पेसाले लोकदोहोरी गायिका सरुको चर्चा देशविदेशमा पनि त्यत्तिकै हुने गर्छ । व्यवसाय, समाजसेवा र राजनीतिलाई पनि समय दिनुपर्ने भएकाले वर्षमा चार महिना उनको विदेशमै बित्छ । संसारका धेरै देश घुमिसकेकी सरुलाई नेपाल स्वर्गजस्तो लाग्छ । धुलोधुवाँ र हिलोमाटो नेपालको पहिचान भएको बताउने उनीसँग कुमार राउतले गरेको कुराकानी :

० तपाईं व्यवसायी कि कलाकार ?
– दुवै हुँ, राजधानीमा दुईवटा दोहोरी साँझ छन् । सँगसँगै गीत पनि गाउँछु । मेरो भूमिका यति मात्र होइन, समाजसेवा र राजनीतिमा पनि संलग्न छु ।

० दोहोरी गायिका ?
– हो, म लोकदोहोरी गायिका हुँ । ‘आज मुड चलेको छ’ मेरो पछिल्लो चर्चित गीत हो । त्यसलाई युट्युबमा पनि हेर्न सक्नु हुन्छ ।

० धेरै विधामा संलग्न हुनु हुँदो रहेछ ?
– हो, आफ्नो व्यवसाय पनि सञ्चालन गरेकी छु, गायन पेसा भइहाल्यो । समाजसेवामा पनि त्यत्तिकै सक्रिय छु । नेपाली कांगे्रसको राजनीतिमा पनि क्रियाशील छु ।

० यति धेरै विधालाई कसरी समय म्यानेज गर्नुभएको छ ?
– अहिलेसम्म भगवानको आशीर्वादले भ्याइरहेकै छु । यति मात्र होइन, प्रायः विदेशमा कार्यक्रम लिएर जान्छु । यसै साता बेलायत र युरोपको कार्यक्रममा संलग्न हुन जाँदैछु ।

० समाजसेवामा संस्थागत नै लाग्नुभएको हो ?
– देवघाटमा मानव सेवा आश्रम सञ्चालन गरेकी छु । २१ जना असाहय बालबालिकालाई शिक्षा दिइरहेकी छु । धेरै गैरसरकारी संस्थामा आबद्ध छु ।

० आश्रममा कसले बास पाउँछ ?
– जसको छानो छैन, मान्छे चिन्दैन, जसको दिमागले काम गरेको छैन, जो सडकमा अलपत्र छ । रोगविराम लागेर सडकमा ल्याएर छोडिएका हुन्छन्, उनीहरूले बास पाएका छन् । सडकमा रहेका बालबालिका, अभिभावक नभएका र बाबु नभएर आमाले सडकमा छोडेका बालबालिकालाई काठमाडौं ल्याएर शिक्षा दिइरहेकी छु ।

० व्यवसाय पनि राम्रै चलेको छ ?
– सन्तुष्ट छु, दालभात खान पुगेको छ । समाजसेवाका लागि केही गर्न पुगेकै छ ।

० पैसा मनग्गे कमाउनु भएको होला ?
– प्रशस्त छैन, मेरो परिभाषामा पैसा एउटा साधन मात्र हो, पैसाले मीठो खान पाइन्छ, असल साथी किन्न पाइन्न । इमान र इज्जत किन्न पाइन्न । आफूलाई चाहिने भौतिक वस्तु किन्न पाइएला, तर मन परेको मान्छे किन्न पाइन्न ।

० मन परेको मान्छे पाइसक्नुभयो ?
– पाइसकें, उहाँ इन्जिनियर हुनुहुन्छ । हाम्रो दुईवटा छोरा छन् । ठूलो डाक्टर हो, सानो सीए, म कलाकार । हाम्रो चारजनाको परिवारमा चारैजना फरक विधामा छौं ।

० पे्रम विवाह हो ?
– होइन, यत्तिको केटोसँग छोरीको घर चल्छ भनेर बुवाले विवाह गरेर पठाइदिनुभएको हो ।

० सबै आ–आफ्नै ढंगले चल्नुभएको रहेछ ?
– होइन, मलाई घरपरिवारको साथ र सहयोग छ । एउटी महिलालाई परिवारको साथ र सहयोग भएन भने उसले केही गर्न सक्दिन । उसलाई परिवारको आँट र भरोसा भयो भने धेरै गर्न सक्छे भन्ने उदाहरण म हुँ ।

० महिलालाई परिवारको साथ चाहियो ?
– हो, परिवारले साथ दियो भने समाजले साथ दिन्छ । समाजको साथ पाइयो भने देशका लागि केही गर्न सकिन्छ भन्न आँट आउँदो रहेछ ।

० व्यवसायले सन्तुष्टि दिएको छ ?
– सन्तुष्ट छु, दीनदुःखीको सेवा गर्न पाउँदा अझ आत्मसन्तुष्टि प्राप्त हुन्छ । अरुको आँशु पुछ्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।

० गैरसरकारी संस्था पनि सञ्चालन गर्नुभएको छ ?
– मानव सेवा आश्रम हो, विदेशीले सञ्चालन गरेका केही संस्था पनि म हेर्छु । धार्मिकलगायत विभिन्न संघसंस्थामा आबद्ध छु ।

० किन धेरै संस्थामा आबद्ध हुनुभएको ?
– मेरो आवश्यकता देख्छन्, राख्छन् । पद खोज्दै म गएकी होइन । संस्थालाई गीत गाइदिएर सहयोग संकलन हुन्छ भने त्यस्ता काम गर्न म जहिले अघि सर्छु । मेरो एउटा सानो सहयोगले व्यक्ति, समाज र राष्ट्रलाई सहयोग पुग्छ भने मैले त्यो सहयोग किन नगर्ने ? अरुको ओठमा मुस्कान देख्न मेरो यी आँखा जहिले आतुर हुन्छन् ।

० धेरैलाई खुसी पार्नुभयो होला ?
– हेटांैडामा कांग्रेस जिल्ला सभापति भेलाबाट फर्किंदा चितवनको मानव आश्रममा पुगेकी थिएँ । अचेत अवस्थामा सुतेका वृद्धाहरूसँग केही क्षण हाँसखेल गरे । उहाँहरूलाई गीत सुनाएँ, उहाँहरूले मसँगै गीत गाउनुभयो, रमाइलो गर्नुभयो । गाजल, लिपिस्टिक ल्याइदिनु भन्नुभएको छ । एकैछिन भए पनि उहाँहरूको ओठमा खुसी देख्दा मनै आनन्दित भयो ।

० पार्टीमा कुन पदमा हुनुहुन्छ ?
– महिला संघ नुवाकोटमा छु । सांस्कृतिक संघको केन्द्रीय सदस्य हुँ । एकपटक महासचिव बनाएका थिए, त्यो निर्णय कार्यान्वयन भएन होला । झन्डै प्रदेश सांसद पनि बनेकी थिएँ । १ प्रतिशतले हुन सकिनँ ।

० सांसद हुन केले रोक्यो ?
– अघिल्लो दिनसम्म मेरो नाम थियो, भोलिपल्ट सांसदको नाम सार्वजनिक हुँदा हटेछ । किन र कसरी हट्यो ? मलाई थाहा भएन ।

० कांग्रेसकै राजनीति किन ?
– रुखबिनाको जीवन अधुरो र पे्रमबिनाको जीवन मधुरो लाग्छ ।

० कहिलेदेखि कांगे्रस राजनीतिमा ?
– जन्मजात कांगे्रस हुँ । मेरा हजुरबाको पनि यही पार्टीमा रगत पसिना बगेको छ ।

० कांगे्रसमा कार्यकर्ताको मूल्यांकन हुँदैन भनिन्छ नि ?
– त्यसो भनिहाल्न त मिल्दैन । तर पार्टीले कलाकारलाई चाहिँ वास्ता गर्दैन भन्ने चाहिँ देखियो । राजनीति पनि सेवा हो, राजनीतिमार्फत समाज र राष्ट्रको सेवा गर्न सकिन्छ । पदभन्दा पनि सेवाकै लागि पार्टीमा छु ।

० पार्टीमा तपाईं कुन समूहको ?
– म समूहको होइन, नेपाली कांगे्रसको अनुशासित सिपाही हुँ । व्यक्तिको होइन, पार्टीको सिद्धान्त र आर्दशलाई म आत्मसात गर्छु ।

० अब के गर्नुहुन्छ ?
– जीवनमा धेरै गर्न बाँकी छ, झुपडीमा बस्ने दिन दुःखीको आँशु पुछ्नु छ । निरन्तर लागिरहेकै छु, एकदिन सफलता पाउँछु भन्ने कुरामा ढुक्क छु ।