७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको नागरिकता निरन्तरतासम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

नेपालब्रिटेन संवाददाता
२० असार २०७५, बुधबार १३:५३

काठमाडौं । गैरआवासीय नेपाली नागरिकको नागरिकतासम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दिपकराज जोशीसहितको पूर्ण इजलासले उक्त रिट बुधबार खारेज गरेको हो । नेपालको संविधान २०७२ को भाग २ को धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्थासँग नागरिकता ऐन २०६३ को दफा १० बाझिएको भन्दै सुरेन्द्रबहादुर श्रेष्ठ र गोविन्द बेलबासेले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकले कुनै अर्को देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था छ । नेपालको संविधान २०७२ को भाग २ को धारा १४ को मर्मविपरित भएको भन्दै कानुन व्यवसायी श्रेष्ठ र बेलबासेले सर्वोच्च अदालतमा २०७२ असोज २४ गते रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ३ जनालाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनको आज बुधबार कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दिपककुमार कार्की, केदारप्रसाद चालिसको पूर्ण इजलासले रिट खारेज गरेको जानकारी सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले दिए ।
सञ्चारविज्ञ पौडेलका अनुसार संविधानमा भएको व्यवस्थालाई ऐन बनाएर कार्यान्वयन गर्न सरकारसँग २०७५ माघ ७ गतेसम्म समय भएकाले रिट निवेदन खारेज भएको फैसलामा उल्लेख छ । ‘लक्षितवर्गलाई कानुन बनाउने समय बाँकी छ, अब बन्ने कानुन संविधानसँग बाझिदैन, पुरानो ऐनसँग अहिलेको संविधान मेल नखान सक्छ, त्यसैले रिट खारेज गरिएको फैसलामा उल्लेख छ’ सञ्चारविज्ञले नेपाल ब्रिटेन डटकमलाई भने ।

संविधान २०७२ भाग २ मा भएको व्यवस्था
१४. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने: विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य
राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक
रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।

नेपाली नागरिकता ऐन २०६३ मा भएको व्यवस्था
१०. नेपाली नागरिकता कायम नरहने :

(१) नेपालको कुनै नागरिकले आपूmखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।
(२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन ।
(३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन ।
(४) कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

(५) नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानून बमोजिम निर्णय गर्नेछ ।
११. पुनः नेपाली नागरिकता कायम हुने ः कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।