१५ बैशाख २०८१, शनिबार
Follow Us

सर्वोत्कृष्ट किसान पुरस्कार पन्तलाई

नेपालब्रिटेन संवाददाता
२० असार २०७५, बुधबार १४:४९

ललितपुर । गोरखास्थित पालुङटार नगरपालिका–७ का किसान राजेन्द्रराज पन्त यस वर्षको सर्वोत्कृष्ट किसानका रुपमा पुरस्कृत हुनुभएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ आज उहाँलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशिको हो ।

त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आउनुभएका लालबहादुर सुनार, धनुषाका माछा उत्पादक किसान बौएलाल मुखिया र कैलालीका केरा खेती गर्दै आउनुभएका रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । उहाँहरु चारैजनाले प्रमाणपत्रसहित रु एक-एक लाख प्राप्त गर्नुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा पछिल्लो समयमा केही सुधार देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मेहनत गरेर राम्रो गरेका किसानबाट अरुले पनि सिक्न सक्छन् ।” कृषिको अहिलेको अवस्था चिरफार गर्न खाँचो रहेको उहाँको धारणा छ ।

मन्त्रालयका सचिव युवकध्वज जिसीले किसानलाई प्रोत्साहन गर्नसके मात्रै यस क्षेत्रको रुपान्तरण सम्भव भएको विचार व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले कृषिमा सुधारका प्रयास भएपनि अझै धेरै सुधारको खाँचो रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कृषि क्षेत्रलाई राज्यले प्रवद्र्धन गर्नुपर्छ भन्ने महसुस गर्न थालिएको बताउनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिमा परम्परागत र टुक्रे प्रणाली समस्याका रुपमा रहेको बताउनुभयो । सर्वोत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत पन्तले आफूले सरकारको अनुदान नलिई दुई दशक पशुपालन गरेको बताउनुभयो ।