१५ चैत्र २०८०, बिहीबार
Follow Us

जुम्ला र वीर अस्पतालमा काँग्रेस सांसदको समूह परिचालन

नेपालब्रिटेन संवाददाता
२० असार २०७५, बुधबार १४:५३

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ । डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै गम्भीर बन्दै गएको उनको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधिसभाका सांसदद्वय प्रकाश स्नेही र रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

जुम्ला जाने काँग्रेस सांसदको समूहले उहाँको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले डा केसीको माग अनुसार यसअघि सरकारले गरेको सम्झौताका आधारमा चिकित्सा विधेयक तयार पार्न पनि माग गरेको छ ।

यसैगरी काँग्रेसले एक महिनादेखि आमरण अनशनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाका बारेमा बुझ्न प्रतिनिधिसभाका सांसदद्वय पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनालाई खटाउने निर्णय गरेको छ ।

तेह्र वर्षअघि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उहाँ एक महिनादेखि वीर अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ । सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा महामन्त्री डा शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायत सांसदको उपस्थिति थियो । सरकारले निश्चित स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने गरी धेरै ठाउँमा निषेधाज्ञा जारी गरेकामा पनि बैठकले त्यसलाई खारेज गर्न माग गरेको छ । पछिल्लो समय जनताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिको विरोध गर्दै काँग्रेसले नियमन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।