१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपाको स्थायी समिति बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२१ असार २०७५, बिहीबार ०५:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीको विधानमा देखिएको विवाद समाधानका लागि स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानु पूर्व बसेको नेकपाको स्थायी समितिको बैठकमा एकीकृत पार्टीको विधानमा छलफल भएको थियो । तर विधानमा धेरै कुरा त्रुटिपूर्ण रहेको भन्दै सदस्यहरुले विरोध गरेपछि विधान अध्ययन गरेर सुझाव दिनका लागि भनिएको थियो ।

बुधबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा विधानमा रहेको विवाद मिलाउनका लागि अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको र प्रस्तावित विधान अध्ययन गरी केन्द्रीय सदस्य तथा स्थायी समिति सदस्यले दिने सुझावलाई समेटेर अघि बढ्ने एजेण्डामा केन्द्रित हुनेगरी बिहीबार दिउँसो ३ बजेका लागि स्थायी समितिको बैठक बोलाइएको नेकपाले जनाएको छ ।

नेकपाका अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, अमिक शेरचन, घनश्याम भुषाल, युवराज ज्ञवालीसहितका नेताहरुले विधानमा असहमति जनाएको छन् । विशेष गरी विधानले पार्टीको अनुशासन आयोगलाई कमजोर बनाएको उनीहरुको आरोप छ ।

विघटित नेकपा एमाले र माओवादी केन्द्रका तत्कालीन अनुशासन आयोग शक्तिशाली रहेको र त्यसकै कारण पार्टीमा अनुशासन कायम गर्न सकिएको तर एकीकृत पार्टीको प्रस्तावित विधानमा अनुशासन आयोगको अधिकार काटेर अपाङ्ग बनाउने काम भएको भन्दै उनीहरुले विरोध गरेका थिए ।

अनुशासन आयोगलाई बलियो बनाउनु पर्ने उनीहरुको माग छ । यहि विवादका कारण विधान पारित हुन सकेको छैन । यसले गर्दा पार्टीका विभिन्न विभागहरु गठन हुन कसेका छैनन् । नेकपामा २० भन्दा बढी विभाग बनाउने तयारी छ ।

यस्तै प्रदेश स्थानीय तह र जनवर्गिय संगठनहरुलाई पनि आफ्नो संरचना बारे प्रस्ताव गर्नका लागि समिति बनाइएको थियो । विधान पारित हुन नसक्दा उनीहरुले पनि प्रतिवेदन दिन सकेका छैनन् ।