१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रमको भारत भ्रमण आर्थिक समृद्धिमा केन्द्रित होस्

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १४:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण मुलुकको आर्थिक समृद्धि र व्यापार घाटा कम गर्ने दिशामा केन्द्रित गर्न निजी क्षेत्रले सुझाव दिएको छ ।

प्रधानमन्त्री दाहालले आज आफ्नै कार्यालयमा आसन्न भारत भ्रमणमा उठाउनुपर्ने आर्थिक मुद्दाबारे निजी क्षेत्रसँग सुझाव लिनुभएको हो । सो अवसरमा निजी क्षेत्रले विद्युत् व्यापार सम्झौता र एकीकृत जाँच पास(आइसिपी) को कार्यान्वयन, सेवा शुल्क एवम् गौरीफन्टा नाका सञ्चालनमा जोड दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त टोलीले भारत भ्रमणलाई दुई देशबीच रहेका व्यापारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको महासङ्घका कावा अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले आर्थिक समृद्धि र निजी क्षेत्रको हितका विषयलाई आफूले भारतीय पक्षसामु उठाउने विश्वास दिलाउनुभएको उहाँले बताउनुभयो । कावा अध्यक्ष राणाले भन्नुभयो, “त्यहाँका निजी क्षेत्रसँग नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने र त्यसक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयमा हामीले जानकारी गराएको छौँ ।”