८ बैशाख २०८१, शनिबार
Follow Us

बुटवल उपमहानगरपालिकाद्वारा चार विधेयक जारी

sarusaru
२२ असार २०७५, शुक्रबार ०४:३२

बुटवल – बुटवल उपमहानगरपालिकाले थप चार विधेयक जारी गरेको छ ।

उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयक आज पारित भएका हुन् । नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक विधेयक–२०७५, आर्थिक कार्यविधि विधेयक–२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक–२०७५ तथा नगर स्वास्थ्य विधेयक–२०७५ प्रस्तुत भएका थिए ।

नगरसभामा उपप्रमुख गुमादेवी आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, आर्थिक समितिका संयोजक टंक पराजुलीले आर्थिक विधेयक र सीतादेवी आचार्यले नगर स्वास्थ्य विधेयक प्रस्तुत गर्नुभएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उपमहानगरको दोस्रो नगरसभाले यसअघि २६ विधेयक पारित गरिसकेको छ । जारी नगरसभामा अहिले बजेटमाथि अन्तिम छलफल भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ का लागि नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक आचार्यले रु एक अर्ब ६६ करोड ५० लाख १६ हजार ८३१ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल ः खुशी बुटवलवासी’ रहेको छ । पर्यटन, कृषि, उद्योग तथा व्यापार–व्यवसायलाई समृद्धिका आधारका रुपमा लिँदै उपमहानगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
रासस