१३ बैशाख २०८१, बिहीबार
Follow Us

मृतकको संख्या १९ पुग्यो

नेपालब्रिटेन संवाददाता
२२ असार २०७५, शुक्रबार १३:०२

बागलुङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् ।

दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भन्नुभयो ।

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताउनुभयो । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुन सक्ने बताइएको छ । घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।