१३ बैशाख २०८१, बिहीबार
Follow Us

थाइल्याण्डको गुफामा फसेका दर्जनबढ़ी किशोरहरूको उद्धार कार्य जटिल बन्दै, उद्धारकर्ताकै मृत्यु

नेपालब्रिटेन डट कम्
२२ असार २०७५, शुक्रबार १३:४४

थाइल्याण्डको एउटा गुफामा झन्डै दुई हप्तादेखि ‘ट्ऱ्याप’मा परेका १२ जना कलिला फुटबल खेलाड़ी र कोचको उद्धार प्रयास जटिल बन्दै गएको छ ।

उद्धार निरन्तर जारी छ र विश्वका धेरै देशले यसमा सहयोग गरिरहेका छन् । उद्धार कति असहज र जटिल छ भन्ने कुरो भर्खरै एक जना उद्धारकर्ताले आफ्नो ज्यान गुमाएबाट स्पष्ट हुन्छ । खतरनाक मानिएको उद्धारकार्यमा अर्काको प्राण बचाउने अभियानमा उनले आफ्नो ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने गोताखोर समन गुनान पूर्व थाई जलसैनिक पनि हुन् ।

सुख्खा दिनमा गुफाको अन्वेषण गर्न पसेको खेलाडीको टोली हराएको दशौं दिनमा मात्रै गुफाभित्र भेटिएको थियो । मुखबाट झन्डै चार किलोमिटरभित्र एउटा सानो र अँध्यारो भागमा शरण लिइरहेको अवस्थामा बेलायती खोज टोलीले उनीहरूलाई पत्ता लगाएपछि सबैमा आशा र खुशीको सञ्चार भए पनि त्यो लामो समय टिकेन । त्यहाँबाट त्यो टोलीलाई सुरक्षित निकाल्न निकै चुनौतीपूर्ण रहेको बताइन्छ । उनीहरू जमिनभन्दा आठसय मिटर मुनि रहेका छन् ।

गुफाको धेरैजसो भाग गहिरो पानी र हिलोले भरिएको छ, कतिपय ठाउँमा गुफा मान्छे छिर्न पनि मुश्किल हुने गरी साँघुरो छ र त्यहाँ पर्याप्त अक्सिजन पनि छैन । उच्च तालिमप्राप्त खोजकर्तालाई पनि त्यहाँबाट निस्किन पाँच घण्टाभन्दा बढ़ी समय लाग्छ । मान्छे डुबाउने कैयन् गहिरा खण्डहरूमा पौड़ी खेलेरमात्र बाहिर निस्किन सकिन्छ तर कतिपय त्यस्ता खण्ड यति साँघुरा छन् कि दुईजना पास हुन सकिन्न । यस्तै एउटा जटिल खण्डमा एउटा उद्धारकर्ताको ज्यान गएको छ । उनी ती बच्चाहरूलाई अक्सिजन पुऱ्याएर फर्किँदै थिए । उनको मृत्यु आक्सीजनको अभावले भएको बताइएको छ ।

आइतबारबाट घनघोर मनसुनी वर्षा सुरु हुने र गुफा बाढ़ीले पुरिने आशङ्का छ । त्यसपछि सम्बन्ध विच्छेद हुनसक्ने डरले सबैलाई पिरोलेको छ । मनसुन नसकियुन्जेल (२-३ महिना) तिनलाई पुग्ने खाद्यान्न र पानी पुऱ्याइएको छ तर तिनले आश्रय लिएको खण्ड बाढ़ीले भरिने या अक्सीजन अभाव हुने सम्भावना पनि छ ।

माथिबाट सुरङ्ग खन्दा तल गुफा पुरिने डर त छँदै छ, आठसय मिटरको सुरङ्ग खन्न त्यति सजिलो पनि छैन । पौड़ी खेल्न नजान्ने तिनलाई जोखिम मोलेरै आइतबार अघि नै बाहिर निकाल्ने सोचमा उद्धारकर्ताहरू पुगेको देखिन्छ ।

तिनको सकुशल उद्धार होस् भनेर विश्वका धेरै मान्छेले प्रार्थना गरिरहेछन् ।