१५ बैशाख २०८१, शनिबार
Follow Us

रोचक बन्दै विश्वकप- एउटा उरुग्वे बीसवटा देशसँग जुद्धै !

नेपालब्रिटेन डट कम्
२२ असार २०७५, शुक्रबार १४:४९

काठमाडौं उपत्यका बराबर या त्यसभन्दा सानो जनसङ्ख्या भएका पाँच वटा देशले यसपटक विश्वकप खेलेका थिए । त्यसमध्ये उरुग्वे र क्रोएशियामात्रै अगाडि बढ्दै छन्।

जम्मा तीन लाख तीस हजारजति जनसङ्ख्या भएको देश आइसल्याण्डले झन्डै महाशक्ति अर्जेन्टिनालाई घर पठाएको थियो । जनसङ्ख्याका हिसाबले जम्मा ३४ लाखका साथ उरुग्वे दोस्रो सानो देश हो । यसले दुई पल्ट वर्ल्ड कप जितिसकेको छ । पनामा, कोस्टारिका र क्रोएशियाको जनसङ्ख्या पनि पचास लाखभन्दा मुनि छ ।

चीन, भारत, अमेरिका र बङ्गलादेशजस्ता देशमा विश्वकै दुई तिहाइ जनसङ्ख्या भए पनि यी कुनै देश विश्वकपमा छनोट भएनन् । विश्वकपमा जनसङ्ख्याको हिसाबले ब्राजिल सबैभन्दा ठूलो हो भने क्षेत्रफलका हिसाबले रसिया । नाइजेरियापछि रसिया जनसङ्ख्याका हिसाबले पनि तेस्रो ठूलो देश हो । ब्राजिलमा बीस करोड़ बढ़ी मानिस बस्छन् भने रसियामा चौध करोड़ भन्दा बढ़ी । त्यसपछि मेक्सिको, जापान, इजिप्ट, जर्मनी, ईरान, फ्रान्स र बेलायत ठूला जनसङ्ख्या भएका देश हुन् । यी सबैमा पाँच करोड़ बढ़ी जनसङ्ख्या छ ।

आज जम्मा ३४ लाख जनसङ्ख्या भएको उरुग्वे ६ करोड़ ७० लाख जनसङ्ख्या भएको फ्रान्ससँग सेमिफाइनल खेल्दै छ । फ्रान्सको एउटा शहर प्यारिसकै जनसङ्ख्या २२ लाख बढ़ी छ । दश जनाबाट एउटा खेलाड़ी छान्नु र हजार जनाबाट छान्नुमा फ़रक छ । तैपनि उरुग्वेले धेरै प्रतिभा जन्माएको छ ।

त्यसैगरी एक करोड़ जनताको बेल्जियम बीस करोड़ जनता भएको ब्राजिलसँग खेल्दै छ । यो एउटा बेल्जियमले २० वटा अर्को बराबर देशसँग खेल्नुजस्तै हो । उरुग्वेको अवस्था पनि यस्तै हो । आफू बराबरका बीस देशसँग एकैपल्ट खेलेजस्तो । तर खेल म्याथ होइन । मैदानमा उत्रिने खेलाड़ी सङ्ख्या बराबर नै हुने हुनाले कसैको पनि जीत र हार हुन सक्छ ।

तपाईं कता ? म्याथलाई आधार मान्ने हो भने ब्राजिलले जित्नु बीस करोड़ मान्छेले जित्नु हो । बीस करोड़ ओठमा मुस्कान भर्नु हो । एक करोड़ बेल्जियम अनुहारमा दुःख र बीस करोड़मा मुस्कान हेर्दा ब्राजिलले जित्नु लोकतान्त्रिक पनि हुने रहेछ । बेल्जियमले जित्दा एक करोड़ त खुशी हुने तर बीस करोड़ दुःखी हुने देखियो । त्यसै गरी जम्मा ३४ लाखलाई दुःख भए पनि फ्रान्सले जित्दा छ करोड़ मान्छे खुशी हुने रहेछन् । यो पनि म्याथ नै हो, खेल होइन । यस्तै हुन्थ्यो भने वर्ल्ड कप चाइनालाई दिए हुन्थ्यो ।

एउटा रोचक तथ्य के छ भने आजका चार टीममध्ये फ्रान्सको मात्रै आफ्नो मौलिक भाषा छ । ब्राजिलमा पोर्चुगिस र उरुग्वेमा स्पेनिश भाषा बोलिन्छ । बेल्जियमको पनि आफ्नो भाषा छैन । नागरिकले झैँ खेलाड़ीले पनि डच, फ्रेन्च र जर्मन बोल्ने र एकअर्काले नबुझ्ने हुनाले कोचले टुटेफुटेको अंग्रेजी बोलेर काम चलाउनु परेको खबर पढ्न पाइन्छ।