१५ बैशाख २०८१, शनिबार
Follow Us

तिरुपति बालाजी सबैभन्दा धनी मन्दिर

नेपालब्रिटेन संवाददाता
२३ असार २०७५, शनिबार ०६:३३

भारत । भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजीको मन्दिर सबैभन्दा धनी मन्दिर मध्येमा परेको छ । भारतका चर्चित मन्दिर मध्येको बालाजी तिरुपतिमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यो मन्दिरलाई द्रविड स्थापत्य शैलीको उत्कृष्ट नमूना पनि मानिन्छ ।

यो मन्दिरमा रहेको भान्सा कोठाले पनि यसको विशेषतालाई झल्काएको छ । मन्दिरको यो गोप्य भान्सामा हरेक दिन ३ लाख लड्डु तयार गरिँदै आएको छ । यहाँ लड्डु बनाउनका लागि पारम्परिक विधिको प्रयोग गरिएको छ । मन्दिरको भान्सामा खटिएका विशेष कालिगढले भक्तजनका लागि प्रसादस्वरुप वितरण गरिने लड्डु तयार पार्दछन् ।

उक्त गोप्य भान्सामा भान्छे, कालिगढ तथा केही पुजारी बाहेक अन्यलाई जान निषेध गरिएको छ । तिरुपतिको यो भान्सालाई पोटू भनिन्छ । बेसन, किसमिस, नौनी घिउ, काजू आदिबाट बनाइने हरेक लड्डुको तौल १७४ ग्राम हुने गर्दछ । प्रसादको रुपमा दर्शनार्थीलाई समेत सोही लड्डु वितरण गरिन्छ ।

दर्शनार्थीका लागि प्रतिगोटा १० देखि २५ भारतीय रुपैयाँसम्ममा लड्डु बिक्री पनि गरिन्छ । तर यसरी तिरुपतिको लड्डु खरीद गर्नका लागि घण्टौं लाइनमा उभिनु पर्दछ । ड्डु किन्न चाहने दर्शनार्थीले सुरुमा सुरक्षा कोड तथा बायोमेट्रिक विवरण सहितको टोकन लिनुपर्दछ र लाइनमा उभिनुपर्दछ । तिरुपति बालाजी मन्दिरको यो लड्डुको इतिहास ३ सय वर्ष पूरानो रहेको बताइन्छ ।