१५ चैत्र २०८०, बिहीबार
Follow Us

गुफामा फसेका १३ मध्ये चार बालकको उद्धार

नेपालब्रिटेन संवाददाता
२४ असार २०७५, आईतवार १४:२५

थाइल्याण्ड । थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये चार बालकलाई आइतबार सकुशल उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका बालकहरूलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा सम्लग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए ।

यद्यपि थाइल्याण्डको सरकारले दिएको जानकारीमा दुई बालकको सकुशल उद्धार गरिसकिएको र दुई अन्यलाई छिट्टै बाहिर ल्याइने बताइएको छ । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि विहानैबाट शुरु भएको थियो ।

उद्धारका लागि १३ जना अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिनुभयो । उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उहाँले बताउनुभएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धारकार्यमा सम्लग्न एक सदस्यले बताए । गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् ।