१३ बैशाख २०८१, बिहीबार
Follow Us

भोटेले जिते कुमार खड्गविक्रम साहसिक अवार्ड

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १६:००

यस वर्षको पर्वतारोहण सम्बन्धी सर्बोत्कृष्ट साहसिक पुरस्कार छिरिङ पाण्डे भोटेलाई प्रदान गरिएको छ । ८ जना प्रतिस्पर्धीलाई उछिन्दै यो वर्षको अवार्ड संखुवासभाका भोटेले जितेका हुन् ।

नेपाल पर्वतरोहण संघले आयोजना गरेको एक विशेष समारोहमा भोटेलाई कुमार खड्गविक्रम साहसिक अवार्ड २०१५ प्रदान गरिएको हो ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा भोटेलाई सो अवार्ड प्रदान गरियो । सन् २००४ मा स्थापित सो अवार्ड अन्तर्राष्ट्रिस्तरको मानिन्छ ।

यसअघि अमेरिका,क्यानाडा लगायत मुलुकका पर्वतरोही र उद्दारकर्ताले पाएको सो पुरस्कार यसपटक भोटेले पाएको संघले जनाएको छ । विशेष गरि पर्वतारोहण क्षेत्रमा साहसिक उद्धारकर्ताको रुपमा चर्चित रहेका भोटेको ख्याती अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा समेत फैलिएको छ ।

सोही समारोहमा यस वर्षको हर्क गुरुङ पर्वतीय पुरस्कार महावीर पुनलाई प्रदान गरिएको छ भने दावा नोर्बु पर्यटन पत्रकारिता पुरस्कार नारायण भण्डारीले पाएका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरु सम्मिलित जुरीले भोटेको नाम छनौट गरेको अध्यक्ष आङ छिरिङ शेर्पाले बताए । नेपाल सर्ट रेस्क्यु अर्गनाइजेशनका संस्थापक भोट २३ वर्षदेखि पर्वतीय साहसिक उद्धारमा संलग्न छन् । उनले स्वीजरल्याण्डबाट तालिम लिएका हुन् ।