१२ बैशाख २०८१, बुधबार
Follow Us

फिर्ता बोलाइएका संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधि भट्टराई को हुन् ?

नेपालब्रिटेन संवाददाता
२५ असार २०७५, सोमबार ०५:२०

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई सरकारले फिर्ता बोलाएको छ । उनलाई १५ दिनभित्र स्वदेश फर्किन सरकारले निर्देशन दिएको छ । राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा गत जेठ २९ गतेमात्र निर्वाचित भएका थिए । निर्वाचित भएपछि भट्टराईले महासंघअन्तर्गतको महत्वपूर्ण समितिको प्रमुखको रूपमा योगदान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताएका थिए ।

महासभाका विभिन्न छ समितिमध्ये एक समितिको जिम्मेवारी भट्टराईले पाएका हुन् । समितिले महासंघको बजेटसम्बन्धी सबै काम गर्ने जनाएका थिए । उनी सन् २०१३ जुलाईमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि नियुक्त भएका थिए । राष्ट्रपति डा. रामवरण यादवले भोजपुरको सिद्धेश्वर गाविस–३ दावाँ निवासी दुर्गाप्रसाद भट्टराईलाई २०१३ जुलाई मा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरेका थिए । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भट्टराईलाई उक्त पदमा त्यतिबेला नियुक्त गरेका थिए ।

स्थायी प्रतिनिधि भट्टराई यसअघि परराष्ट्र सचिव थिए । परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्नुअघि उनी श्रीलङ्काका लागि नेपाली राजदूत थिए । त्यसअघि उनले राष्ट्रसंघका लागि न्यूयोकस्थित नेपाली नियोगमा नायव स्थायी प्रतिनिधिका रुपमा सेवा गरेका थिए । २०४३ सालमा निजामति सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको सहसचिवमा २०५४ सालदेखि कूटनीतिक जीवन प्रारम्भ गरेका हुन् ।