१३ बैशाख २०८१, बिहीबार
Follow Us

कम्युनिस्ट सरकार अधिनायकवाद लाद्न उद्दत भएको कांग्रेसको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
२५ असार २०७५, सोमबार १०:३१

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारले दुईतिहाइको दम्भमा विधि र पद्दतिभन्दा पनि थर्काएर सत्ता सन्चालन गरिरहेको आरोप लगाएका छन् । कांग्रेस नेता डा. नारायण खड्काले सोमबार काठमाडौंमा आयोजना गरेको पुराना कांग्रेसका नेताहरुको भेलामा बोल्दै उनीहरुले सरकार हकुमी शैलीले अघि बढेको भन्दै चर्को आलोचना गरेका छन् ।

कांग्रेस नेताहरुले लोकतन्त्र संकटमा पर्नेगरी सत्तारुढ दलले काम गरेको आरोप लगाउँदै कम्युनिस्ट सरकार अधिनायकवाद लाद्न उद्दत भएको जिकिर गरे । सभापति शेरबहादुर देउवाले कांग्रेस अब सशक्त ढंगबाट सरकारको खिलापमा जाने चेतावनी दिए । उनले पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली कांग्रेस बनाउने अभियानमा आफू रहेको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनायकवादतर्फ उद्दत भएको भन्दै कांग्रेस एक भएर चुनौतीको सामाना गर्नुपर्ने बताए । विपन्नलाई न्याय र गरिबलाई आय भन्ने मान्यताबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । नेता डा. खड्काले कांग्रेस नेताहरुसँग रहेको पुराना अनुभव आदान–प्रदान गरेर कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नका लागि ऊर्जा लिन भेला गरिएको बताए ।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादारले आफूसँग पार्टी एकताकाक्रममा भएका सहमति कार्यन्वयन गर्न आग्रह गरे । उनले पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नभए आफू भेला गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो । कार्यक्रममा पुराना नेताहरुले भने पार्टी नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले नेताहरु गुटमा रमाएका कारण पार्टी कमजोर भएको भन्दै गुट त्याग्न आग्रह गरे ।