१३ बैशाख २०८१, बिहीबार
Follow Us

जाम्बियामा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम

नेपालब्रिटेन डट कम्
२५ असार २०७५, सोमबार १२:०१

१ जुन २०१८ का दिन गैरआवासीय नेपाली संघ जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा, मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकील र संचारकर्मीहरुको प्रतिनिधित्व थियो ।

यस कार्यक्रममा जाम्बियाको परराष्ट्र मन्त्रालयको राजनैतिक र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटी भाइस चांसलर र डीन, संयुक्त राष्ट्र संघ संस्थाका निर्देशक, प्रतिष्ठित ब्याक्तिहरु र जाम्बियामा रहेका नेपालीहरूको सहभागीता रहेको थियो । नेपालको राष्ट्रियगान गित बाट सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्बियाका अध्यक्ष प्रोफेसर बिशाल नाथ उप्रेतीले कार्यक्रमको उदेश्य माथि प्रकाश पर्दै अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । आफ्नो स्वागत भाषणमा प्रोफेसर उप्रेतीले एनआरएनएको संक्षिप्त परिचय दिनुको साथै नेपालका गौरवपूर्ण इतिहास र संस्कृति र राजनीतिक घटना क्रमको बारे उजागर गर्दै नेपाल र जाम्बिया बीचको सुमधुर कूटनीतिक सम्बन्ध विकास र दुई देशबीचको वर्तमान उच्चस्तरी को सम्बन्धको विकासको संभावना पेश गर्नुभयो।

नेपालका रहेको अद्वितीय पर्यटकिय आकर्षणका बारेमा प्रोफेसर उप्रेतीले उल्लेख गर्दै, उपस्थित पहुनाहरुलाई नेपाल आउन प्रोत्साहन गर्नु भयो। उहाँले जाम्बियन सहभागीहरु विशेष गरी सरकारी प्रतिनिधिहरूलाई पर्यटकिय विकासका क्षेत्रहरुमा नेपालसंग एकसाथ काम गर्न सकिने सम्भावनाहरुबारे पनि उल्लेख गर्नु भयो। नेपाल पर्यटन सम्बन्धी स्वागत भिडियोको एक प्रस्तुतीकरण पछि; नेपालका प्रमुख पर्यटकिय स्थलहरूको झलकहरु आईएलओमा काम गर्ने नेपाली नागरिक श्री गुंजन डल्लाकोटि द्वारा प्रस्तुत गरिएको थियो। युएनएड्स जाम्बियामा कार्यरत र एनआरएनए जाम्बियाका सल्लाहकार डा. नर्मदा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाले सहभागीहरुलाई भूकम्प पछिको देशको पुनर्निर्माण कार्यमा पनि नेपाललाई सहयोग पुर्याउन अपील गर्नु भयो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले बिगतका आफ्ना नेपालको भ्रमणको बारेमा आफ्ना विचारहरु र अनुभवहरु आदान प्रदान गरेका थिए । सहभागीहरूले नेपालका बारे आफ्ना प्रश्नहरू / जिज्ञासाहरू पनि राखे जुन नेपाली सदस्यहरूबाट सम्बोधन गरिएको थियो। अंतत नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरणहरु, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा, भगवान बुद्धको जन्मस्थान, गोर्खाली वीरताको इतिहास, विशिष्टता सहितको झण्डा, पौराणिक र सुन्दरताको भूमि आदि छलफलका मुख्य विषयहरू थिए । युएनएचसीआर जाम्बियामा कार्यरत र एनसीसी-जाम्बियाका सल्लाहकार श्री केशव श्रेष्ठले, “नेपालका जीवित देवी – कुमारी” को कथाको बारेमा व्याख्या गर्नुभयो। कार्यक्रममा जाम्बिया राजस्व प्राधिकरणको एक अधिकारी (जसले नेपाल भ्रमण गरेका थिए) ले आफ्नो अनुभव सुनाउनु भएको थियो र नेपालमा अत्यधिक प्रभावकारी राजस्व संकलन व्यवस्था लागू गरिएको र कर फिर्ता दाखिल गर्न निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य महासंघको भूमिका र सहयोगको प्रसंसा गर्नु भयो।

अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भयो। उहाँले यस महत्त्वपूर्ण कार्यक्रमको आयोजनका लागि नेपाली रदूतावास प्रिटोरिया, दक्षिण अफ्रिकालाई आफ्नो कृतज्ञता व्यक्त गर्नु भयो। उहाँले जाम्बियाका एक मात्र नेपाली उद्यमी श्री रोशन थापालाई उदार वित्तीय योगदानका लागि धन्यवाद दिनु भयो । साथै कार्यक्रम सफल बनाउन मदत गर्ने समस्त जाम्बियावासी नेपालीहरुको योगदानको प्रसंसा गर्दै, कृतज्ञता ब्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा रात्रिभोजको आयोजना गरिएको थियो । सहभागीहरूले रात्रिभोजका बखत अनौपचारिक छलफल र विचारहरू आदान प्रदान गरेका थिए । नेपाल र नेपाली जनताको बारेमा थप ज्ञान, तथा नेपाल र जाम्बिया बीच पर्यटनको संभावना बारे थाहा पाउँदा खुसी ब्यक्त गरेका थिए ।

अतिथिहरुद्वारा कार्यक्रमको सराहना गर्नुको साथै नेपाल र नेपाली जनताको बारेमा यस कार्यक्रम मार्फत धेरै जान्ने मौका पाउँदा खुशी थिए । सारांशमा, नेपालको परिचय, नेपाल को पर्यटन प्रबर्द्धन गर्नका लागी आयोजना गरिएको यस कार्यक्रम अत्यन्त सफलतासाथ सम्पन्न भयो ।

एनसिसि जाम्वीया ।