८ बैशाख २०८१, शनिबार
Follow Us

यूकेमा धेरै नेपाली महिला पीडित छन्

नेपालब्रिटेन संवाददाता
२५ असार २०७५, सोमबार १४:२४

रोजिना प्रधान राई, अध्यक्ष, रोजिहिरा फाउन्डेसन
बेलायतमा बसेर नेपाली समाजलाई नजिकबाट नियालिरहेकी रोजिना प्रधान राई आफ्नै व्यवसायमा व्यस्त छिन् । व्यस्त समयको बाबजुद पनि उनी च्यारिटीका लागि त्यत्तिकै सक्रिय रहन्छिन् । विशेष गरी बालबालिकाको शिक्षा, असहाय र वृद्धाका लागि उनी काम गर्न मन पराउँछिन् । झन्डै दर्जन संघसंस्थामा आबद्ध रोजिना एसियन महिला एसोसिएसनको मिडिया को–अर्डिनेटर हुन् । बेलायतमा नेपाली महिलाको अवस्था, समाजसेवामा उनको योगदान र उनका भावी योजनाबारे रोजिनासँग कुमार राउतले गरेको कुराकानी–

० बेलायतमा नेपाली महिलाको दिन कसरी बित्छ ?
– एकदमै व्यस्त हुन्छन् । कसैलाई पनि एकक्षण पनि फुर्सद हुँदैन ।

० तपाईं व्यवसाय गर्नुहुन्छ कि जागिर ?
– मेरो चाहिँ आफ्नै व्यवसाय छ, हस्तकला, ट्राभल्स एन्ड टुर्स र प्रोपर्टी कम्पनी छ । व्यवसाय र समुदायको कामले गर्दा त्यति फुर्सद त्यति हुँदैन ।

० हस्तकलाको व्यवसाय कस्तो चलेको छ ?
– बेलायतमा त्यति राम्रो छैन, अमेरिका र क्यानडामा राम्रो छ । दाजुहरू पनि त्यतै भएकाले नेपालकै सामान हामी सप्लाइ गर्छाैं ।

० व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
– त्यति सन्तुष्ट छैन, यहाँ हस्तकलाको मार्केट राम्रो छैन, त्यसैले हामीले अन्य व्यवसाय सुरु गरेका हौं । ट्राभल्र्स एन्ड टुर्स र प्रोपर्टीको व्यवसायबाट सन्तुष्ट छौं ।

० च्यारिटीको काम कति बेला गर्नु हुन्छ ?
– मनमा इच्छा भएपछि भगवानले पु¥याउँदा रहेछन् भन्नुपर्ला । इच्छा गरेपछि समय निस्कँदो रहेछ । बेलायतमा मात्र होइन, हामीले नेपालका पनि विभिन्न क्षेत्रमा गएर सहयोग जुटाएका छौं ।

० कतिवटा संघसंस्थामा आबद्ध हुनुहुन्छ ?
– रोजिहिरा फाउन्डेसनको अध्यक्ष हुँ । त्यसबाहेक दर्जनजति संघसंस्थाको विभिन्न ओहोदामा रहेर काम गरिरहेकी छु ।

० फाउन्डेसनले के गर्छ ?
– नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले हामीले यो फाउन्डेसन स्थापना गरेका हौं । प्रत्येक वर्ष हामी स्कुले बालबालिकालाई सहयोग उपलब्ध गराउँछौं । चेपाङ बस्तीका बालबालिकालाई पनि सहयोग पु¥याउँछौं । वृद्धाश्रमका लागि काम गर्छौं । बेलायतमै दुःख पाएकालाई पनि सहयोग गर्छाैं ।

० सहयोगका लागि शिक्षा क्षेत्र नै किन रोज्नुभएको हो ?
– हाम्रो देशका लागि शिक्षा महत्वपूर्ण छ, बालबालिकाको शिक्षामा सहयोग गर्दा मन आनन्द हुन्छ । हाम्रो सहयोगले माछा मार्न सिकाउने हो, माछा मारेर दिने होइन ।

० बेलायतमा पनि दुःख पाएका नेपाली छन् ?
– नेपाली समाज हो, जति नै शिक्षित र सम्पन्न भए पनि पुरुषहरूले आफ्नो चरित्र देखाउँछन् । म नेप्लिज ओमन एसोसिएसनमा पनि आबद्ध छु । पीडित महिलाको गुनासो सुन्ने सुनाउने हो भने दुःख लागेर आउँछ । हामीले भर्खरै मात्र वकिलकै श्रीमतीको केस मिलाउने प्रयास गरेका छौं ।

० कस्तो दुःख पाउँछन् महिलाले ?
– घरेलु हिंसाको घटना हुन्छन् । श्रीमान् अर्कै महिलासँग बसेको भेटिन्छ । श्रीमती कुट्ने, बालबच्चालाई दुव्र्यवहार गर्ने खालका घटना हुन्छन् । त्यस्ता घटनामा महिलाले उजुरी गर्न पनि सक्दैनन्, सार्वजनिक रूपमा भन्न पनि सक्दैनन् । पीडा लुकाएर बस्नुपर्ने बाध्यता छ । कतिपय ठाउँमा महिलाको पनि गल्ती हुन्छ ।

० उजुरी गर्न मिल्दैन ?
– उजुरी गरेपछि उनीहरूले छुट्टिनुको विकल्प देख्दैनन् । बेलायतीका लागि यो सामान्य भए पनि हाम्रो समाजमा श्रीमान् श्रीमती छुट्टिनु भनेको त्यति सजिलो छैन । यदि उजुरी ग-यो भने बच्चालाई केयर होममा लगिन्छ र उनीहरूलाई छुटाइन्छ ।

० यस्ता घटना बढ्दो छ कि घट्दो ?
– मैले बढ्दो क्रममा पाइरहेकी छु । धेरैजसो घटना गलत बुझाईले भएको हुँदा एकआपसमा छलफल गरेर समाधान निकाल्न सकिन्छ ।

० किन यस्ता घटना हुन्छन् ?
– स्वतन्त्रताको दुरुपयोग गर्दा यस्ता घटना हुन्छन् । नेपालमा दबिएर बसेका महिलाहरू यहाँ आएपछि आफूलाई स्वतन्त्र ठान्छन् । धेरै कुरा त सरसंगतले पनि प्रभाव पार्छ ।

० पछिल्लो एउटा घटना सुनाउन सक्नुहुन्छ ?
– अफगानिस्तान खटिएका एक व्यक्तिले घरमा श्रीमतीलाई एकदमै टर्चर दिँदा रहेछन् । महिना दिनमा एकपटक घरमा आएर कुटने पिट्ने मात्र होइन, घरमा आएको बेला सिरक डसनालगायत चम्चासमेत लिएर जाँदा रहेछन् । उनले सिंगल बन्न दबाब दिँदा रहेछन् । डिप्रेसनको अवस्थामा पुगेकी उनले सहयोग मागिन् । बुझ्दै जाँदा अर्की विवाह गरेर सन्तानसमेत भइसकेको रहेछ ।

० यस्ता केसहरू कसरी मिलाउनु हुन्छ ?
– हरेक काम म एक्लै गर्दिनँ, संस्थागत रूपमा गर्छ‘ । श्रीमान्को सहयोग लिन्छु । छुटाउनु भन्दा पनि मिलेर अघि बढ्ने मोटिभेसन गर्छु ।

० कति भो बेलायत बसोबास गर्नुभएको ?
– श्रीमान् दुई दशकभन्दा बढी भयो, मेरो चाहिँ डेढ दशक पुग्यो ।

० नेपालमा कहाँ हो घर ?
– म काठमाडौंकै हुँ, श्रीमान् हिराधन राई खोटाङको हुनुहुन्थ्यो, अहिले सातदोबाटोमा हाम्रो घर छ । उच्च शिक्षा हासिल गर्न म बेलायत आएकी हुँ ।

० श्रीमान्सँग कहाँ भेटभयो ?
– बेलायतमै भेट भएको हो, नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा हाम्रो भेट भएको थियो । उहाँले मलाई मन पराउनुभयो, मलाई पनि ठीक लाग्यो, सँगै जीवन काटौं भन्ने प्रस्ताव उहाँले राख्नुभयो, मैले सोच्नुपर्छ भने ।

० के सोच्नुभयो त ?
– उहाँसँगै जीवन काट्ने निष्कर्ष निकालें । अहिले हाम्रो ६ वर्षको छोरा छ ।

० अब बेलायतमै बस्ने ?
– होइन, जति टाढा त्यति देशको माया गाढाजस्तो भएको छ । धुँवा धुलो, हिलो माटो जेजस्तो भए पनि मलाई नेपाल नै स्वर्गजस्तो लाग्छ ।

० बुढेसकाल लागेपछि फर्किने होला ?
– होइन, नेपाल फर्किएर केही गर्ने सोच बनाएका छौं । यद्यपि अहिले पनि कृषि र फाइनान्समा हाम्रो लगानी छ । श्रीमान्को दोस्रो पेन्सन हुन लागेको छ, त्यसपछि विचार गर्ने पक्षमा छौं ।

० के कुरामा सौख छ ?
– फिट एन्ड फाइन रहनुपर्छ । नयाँ काम गर्ने इच्छा लाग्छ । यी सौखसँगै विभिन्न देशमा दुःख पाइरहेका मानिसहरूले कसरी जीवन बिताइरहेका छन्, त्यस्ता कुरा हेर्न मन लाग्छ । उनीहरूलाई सहयोग गर्ने इच्छा जाग्छ ।