१५ चैत्र २०८०, बिहीबार
Follow Us

साहित्यकार खालिङको अन्त्येष्टि दार्जीलिङमा

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७३, बिहीबार ०५:५८

झापा । सोमबार निधन हुनुभएका नेपालका प्रजातन्त्र सेनानी एवम् साहित्यकार दान खालिङको बुधबार दिउँसो दार्जीलिङको सिङमारीमा अन्त्येष्टि गरिएको छ । कान्छो भाइ एनसी खालिङको दार्जिलिङस्थित घरमा विगत डेढ महिनादेखि बस्दै आउनुभएका उहाँको सोमबार त्यहीँ निधन भएपछि पारिवारिक सल्लाहमा त्यतै अन्त्येष्टि गरिएको हो ।

उहाँ लामो समयदेखि मधुमेह, नसा लगायतको रोगबाट पीडित हुनुहुन्थ्यो । सिलगढीस्थित दाजुको घरमा लामो समयदेखि रहनुभएका उहाँलाई बिरामीले अझ थलिएपछि उपचारका लागि सजिलो हुने भन्दै डेढ महिनाअघि दार्जिलिङ लगिएको थियो ।

बुधबार बिहान दार्जिलिङको रेल्वे स्टेसननजिक रहेको सेन्ट कोलम्बस चर्चमा केही घन्टा उहाँको पार्थिव शरीरलाई राखिएको थियो । चर्चमा राखिएको बेला उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिन स्थानीय राजनीतिक दलका नेता, साहित्यकार, नातागोता, शुभचिन्तक र क्रिश्चियन धर्मावलम्बीको घुइँचो लागेको थियो ।

दार्जिलिङ टेरेटोरियल एडमिनिस्ट्रेसनका प्रमुख एवम् गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले कोलम्बस चर्चमै पुगेर खालिङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।