८ बैशाख २०८१, शनिबार
Follow Us

धर्ना दिने २५ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२६ असार २०७५, मंगलवार १०:३७

काठमाडौं । प्रहरीले अधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई नियन्त्रणमा लिएको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । अनसनरत गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि सरकारका निर्णय तत्काल फिर्ता हुनुपर्ने लगायत माग राखेर धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेको छ ।
गिरफ्तार परेकामा मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा. गंगाधर पराजुली, होमाकान्त चौलागाइँ, कृष्ण कंडेल, रेणुका पौडेल, उत्तम पुडासैनी, बलबहादुर गाहामगरलगायत छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्ने केहीलाई नियन्त्रणमा लिइएको बताएको छ । पछिल्लो समय सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीप्रति क्रुर बन्दै गएको अवस्थामा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको मानवअधिकार तथा शान्ति समाजले विज्ञप्तिमार्फत जनाएको छ ।