११ बैशाख २०८१, मंगलवार
Follow Us

लण्डनको पशुपतिनाथ मन्दिरको च्यारिटीमा उठ्यो १ करोड

नेपालब्रिटेन डट कम्
२६ असार २०७५, मंगलवार २०:०४

फडिन्द्र भट्टराई ।

युरोपमै नेपालीले स्थापना गरेको पहिलो पशुपतिनाथ मन्दिरले गरेको च्यारिटी कार्यक्रमबाट करिब ७० हजार पाउण्डको कोष संकलन भएको छ। कोष संकलनका लागि स्थानीय स्वामीनारायण मन्दिरमा आयोजित कार्यक्रमबाट उक्त रकम संकलन भएको हो।

मन्दिरको भवनलाई फ्री होल्ड गराउनका आवश्यक कोष संकलन गर्ने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको थियो।

संकलित कोषमध्ये धेरै मन्दिरको ट्रस्टी बोर्ड तथा आजीवन सदस्यता वितरणबाट संकलन गरिएको थियो भने केही रकम तथा कार्यक्रमको टिकट बिक्रीबाट गरिएको हो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरले सनातन हिन्दू धर्म र संस्कार मात्र नभएर बेलायतमा नेपालीको पहिचानलाई समेत बचाउने काम गरेको धारणा व्यक्त गरेका थिए।

स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी मेयर मिक हेजले यस क्षेत्रमा नेपाली समुदायको आकार बढ्दै गएको बताउँदै यस मन्दिर यहाँका नेपालीलाई मात्र नभएर अन्य समुदायको लागि पनि खुसीको विषय हुने बताए।

एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी लिडर डेभिड गार्डनर, काउन्सिलर लक्ष्य गुरूङ, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

त्यस अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले मन्दिरको भवनलाई फ्री होल्ड गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम आयोजना गरिएको बताए। मन्दिर आर्थिक सहयोग गर्ने दाताहरुको मात्रै नभएर सबैको साझा रहेको धारणा उनले राखे ।

मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल, च्यारिटी कार्यक्रमका संयोजक डा अच्युत धिताल, च्यारिटी कार्यक्रमका सहसंयोजक तथा मन्दिरका ट्रष्टी बोर्ड संयोजक कर्ण शाही र मन्दिरका संरक्षक पण्डित निलहरि घिमिरेले मन्दिर स्थापनाको पृष्ठभूमिसहित अहिलेसम्म आइपुग्दाको यात्राबारे बताएका थिए।

मन्दिर व्यवस्थापन समितिका महासचिव दाशु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र कँडेलले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा मन्दिरका ट्रस्टी तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र तथा ब्याज वितरण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका राष्ट्रिय कलाकार विमलराज क्षेत्रीसहित केही स्थानीय कलाकार समेतको सहभागितामा विभिन्न भजन कृतन र नृत्य प्रस्तुत गरेका थिए।