८ बैशाख २०८१, शनिबार
Follow Us

टिपर दादागिरी

sarusaru
२७ असार २०७५, बुधबार ०४:४५

काठमाडौं : राजधानीको जडीबुटीमा जेब्राक्रसअगाडि टिपरले ठक्कर दिँदा मंगलबार मोटरसाइकलमा सवार भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ । तीव्र गतिमा भक्तपुरबाट कोटेश्वर आउँदै गरेको टिपरले ब्रेक लगाउन नभ्याउँदै मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीको बताए ।

बा८५प ७१६ नम्बरको मोटरसाइकल हाँकिरहेका भक्तपुरकै अमन ढुंगेल पनि सुवेदीसँगै सडकमा बजारिए । ढुंगेलको खुट्टा भाँचिएको छ भने सुवेदीको घटनास्थलमै मृत्यु भएको हो । बा४ख ८७२५ नम्बरको टिपरले लापरबाही ढंगले अन्य सवारीसाधनलाई पेल्ने गरी हाँकेको प्रत्यक्षदर्शी विशाल कर्णले बताए । उनले भने, ‘मोटरसाइकल जेब्राक्रस नजिकै पुग्दै थियो, एक्कासि टिपरले ठक्कर दियो । हेर्दाहेर्दै पछाडि बस्ने यात्रुलाई किचेर टिपर अगाडि पुगेर रोकियो ।’

कर्णले टिपरको दादागिरी दिनदिनै चलिरहँदा पनि नियामक निकाय कानमा तेल हालेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

टिपर दादागिरीको यो एउटा प्रतिनिधि घटना मात्रै हो यो । जेठमा मात्रै टिपर ठक्करबाट उपत्यकाभित्रै चार जनाको मृत्यु भइसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसअघि गत जेठ ३० गते जडीबुटी नजिकै ना४ख ३५८८ नम्बरको टिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रौतहट घर भएर काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भएको थियो ।

जेठ नौ गते भक्तपुर नलिनचोकमा बा३ख ६६७४ टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा लोकन्थली बस्ने हरिभक्त कटवाल, सविता घिमिरे र अवीन्द्र घिमिरेको मृत्यु भएको थियो ।

महाशाखाका अनुसार २०७४ साउनदेखि जेठसम्ममा मात्रै उपत्यकामा टिपरको ठक्करबाट ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

टिपर चालकलाई धेरै कक्षा दिइसक्यौं । चालकले दुर्घटनाबारे सचेत हुने प्रण गर्छन् तर व्यवहार फेरिएको छैन ।

–सुरेन्द्र मैनाली, एसपी, प्रवक्ता– महानगरीय ट्राफिक प्रहरी महाशाखा

महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार घाइते ढुंगेलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालक धादिङका हरिशरण राईलाई नियन्त्रणमा लिएको छ । एसपी मैनालीले टिपर चालकलाई कारबाही गर्दा पनि दुर्घटना नियन्त्रणमा नआएको स्वीकारे । उनले भने, ‘हामीले धेरै पटक टिपर चालकलाई कक्षा दिंदै आएका छौं । चालकले दुर्घटनाबारे सचेत हुने प्रण गर्छन् तर व्यवहार फेरिएको छैन ।’

महाशाखाका अनुसार पिक–आवर (बिहान नौदेखि ११ बजेसम्म र अपरान्ह चारदेखि साँझ ६ बजेसम्म) रिङरोड र भित्री सडकमा छिर्न मालवाहक सवारीसाधनलाई रोक लगाइएको छ । तर रिङरोडबाहिर चल्नेलाई निर्वाध चल्न दिइएको छ । ‘अहिले भक्तपुरमै पनि टिपर चालकलाई नै केन्द्रित गरेर कक्षा लिँदै आएका छौं तर चालकले नै लापरबाही ढंगले हाँक्छन् र दुर्घटना निम्तिन्छ,’ एसपी मैनालीले भने, ‘तीव्र गतिमा हाँक्ने, म्युजिक बजाएर वास्ता नगरी सवारी हाँक्ने र हेभी गाडी चलाउने मापदण्ड नपुग्दै सवारी हाँक्ने चालकले दुर्घटना निम्त्याएको देखिन्छ ।’

ट्राफिक इन्जिनियर आशीष गजुरेल टिपर चालकले सवारी हाँक्दा धेरै लापरबाही गर्ने गरेको बताउँछन् । ‘हेभी गाडीको लाइसेन्स वितरण प्रणालीमै सुधार गर्नुपर्ने देखिन्छ । अझ टिपर चालक त कलिला उमेरका देखिन्छन् । गाडी पनि धेरै पावरफुल गेयर हुने भएकाले तीव्र गतिमा हाँक्दा दुर्घटना हुन्छ,’ गजुरेलले भने, ‘चालकले संयम भएर हाँके मात्रै पनि दुर्घटना न्युनीकरण गर्न सकिन्छ।’

उनले मालवाहक सवारी साधनलाई अहिले रिङरोडमा मात्रै अफिस टाइममा रोक लगाउँदै आएकोमा अब उपत्यकाभित्र र बाहिरका सडकमा पनि त्यही मापदण्ड लगाउनु आवश्यक रहेको बताए । गजुरेलले भने, ‘जापान, अमेरिका, चीनमा हेर्ने हो भने पनि त्यहाँ मालवाहक सवारी साधनलाई एउटा निश्चित समय तोकेर मात्रै चलाउन दिएको पाइन्छ, नेपालमा पनि त्यही जरुरी छ ।’

कानुन कडा तर कार्यान्वयन फितलो

ठक्कर दिएर मान्छे मार्ने चालकलाई कडा कारबाही हुने कानुनी व्यवस्था भए पनि कार्यान्वयनको पक्ष भने फितलो देखिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) ले चालकले ज्यान मार्ने मनसाय लिएर दुर्घटना गराई तत्काल ज्यान गएमा सर्वश्वसहित जन्मकैदको व्यवस्था गरेको छ ।

सोही दफाको २ नम्बरमा दुर्घटना हुन सक्छ भनेर जानीजानी लापरबाही ढंगले सवारी चलाएर दुर्घटना गराई मान्छे मारेमा दुई वर्षदेखि १० वर्षसम्म कैद व्यवस्था गरेको छ । तीन नम्बरमा भने सवारी चालकले कसैको ज्यान मर्न सक्छजस्तो लागेको तर उसले नदेखी कुनै दुर्घटना भई ज्यान गएमा एक वर्ष कैद र दुई हजार जरिवानाको व्यवस्था गरेको छ ।

प्रहरीले भने अधिकांश सवारी दुर्घटनाबाट मान्छे मरेको घटनामा तीन नम्बरको बुँदा प्रयोग गरेर अदालतमा मुद्दा दर्ता गर्दै आएको छ । यो मुद्दा चलाएपछि चालक जेलमा बढीमा ६ महिना मात्रै हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं मुद्दा शाखाका प्रमुख डीएसपी मोहन थापाले प्रहरीसम्म सबै प्रमाण आउँदा अधिकांश मुद्दा तीन नम्बर आकर्षित देखिएपछि उक्त मुद्दा चलाउँदै आएको बताए।

थापाले भने, ‘केही मुद्दामा दफा १६१ (१) अनुसार नै मुद्दा चलेर चालक जेल गएका प्रमाण पनि छन् तर अधिकांशमा तीन नम्बर नै चलाइँदै आएको देखिन्छ । यसलाई सुधार्नुपर्ने देखिन्छ ।’

अन्नपूर्ण पोष्ट