१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडक भासियो, सवारी ओहोर दोहोर एकतर्फी

नेपालब्रिटेन संवाददाता
२७ असार २०७५, बुधबार ०८:३२

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनुको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हिजो विहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनु भएको छ ।

भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।
सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उहाँले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताउनु भयो ।

आज विज्ञहरुको समूहले अनुगमन गर्ने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताउनु भएको छ । नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने हुन्छ ।
अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ ।