१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिक्षण अस्पतालका आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार ०५:३१

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरुले आजदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा.विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १४ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ । एसोसिएशनमा ३ सय भन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् ।

एसोसिएशनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घण्टा सेवा छाडेर धर्नाको कार्यक्रम जारी राखेका छन् । संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतवनी दिँदै आएको छ ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ । मन्त्रालयले देशमा बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने समय भएको भन्दै देशभरका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित रुपमा कामकाजमा खटिन समेत निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित सूचनामा अस्पतालभित्र बन्द, हडताल, घेराउ गरेगराएको पाइएमा त्यसमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।