१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बम–सरस्वती स्मृति पुरस्कार’ समीरलाई

sarusaru
३० असार २०७५, शनिबार ०३:५२

बागलुङ – धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई शुक्रबार प्रदान गरेको छ ।
यहाँ आयोजित २०५ औं भानु जयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उहाँलाई रु दश हजार राशिसहित पुरस्कृत गर्नुभयो । गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष समीरका ‘आँशुका सौगातहरु’ गजल सङ्ग्रह, ‘श्रीपेच नभएका राजाहरु’ निबन्ध सङ्ग्रह, ‘जिन्दगी’लगायत पुस्तक प्रकाशित छन् । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीका स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा समीर चौथो प्रतिभा हुनुहुन्छ ।

सो अवसरमा संस्कार नेपालका अध्यक्ष पशुपति गुरुङलाई समेत प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका सदस्य सचिव राम अविरलले बताउनुभयो । समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले कला, भाषा र साहित्यको जगेर्ना र संरक्षण गर्नुपर्ने बताउनुभयो । भानुजयन्तीमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायत कार्यक्रम गरेको छ ।
रासस