१३ बैशाख २०८१, बिहीबार
Follow Us

तेस्रो स्थानका लागि इग्ल्यान्डविरुद्ध बेल्जियम भिड्ने

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार ०५:२८

मस्को । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।

बेल्जियम दोस्रो पटक तेस्रो स्थानको प्लेअफ खेल्दै छ । पछिल्लो पटक मेम्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो । इङ्ल्यान्ड पनि दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दै छ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इङ्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।

बेल्जियम र इङ्ल्यान्डले एकापसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी भएको थियो । त्यसयता इङ्ल्यान्डले १४ खेल जितेको छ भने बेल्जियमले दोब्बर जित दर्ता गरेको छ ।

विश्वकपमा भने दुई टोलीबीच तीन पटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो । सन् १९९० मा भने इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो । जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो । समूह चरणको नतिजा दोर्होयाउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदै छ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ । विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्ने छन् ।