७ बैशाख २०८१, शुक्रबार
Follow Us

भानु जयन्तीमा बालुवाटारमा भोज

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार ०५:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका क्रममा विदेशी साहित्यकारहरुको नेपाल बसाइ सुखमय रहने अपेक्षा व्यक्त गर्दै सम्मिलनको सफलताको कामना गर्नुृभयो । प्रधानमन्त्री ओलीले हिजो अपराह्न सो सम्मिलनको उद्घाटन गर्नुभएको थियो । सम्मिलनकै पहिलो दिन हिजो जमलस्थित राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सम्मिलनमा भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जि्लिङ, वाराणसी, विहार, सिलाङलगायतका स्थानका साहित्यकारहरुको सहभागिता रहेको छ । सम्मिलनको दोस्रो दिन शनिबार हिमवत्खण्डका संस्कृति र सभ्यतासम्बन्धी कार्यपत्रहरुको प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र हास्यव्यङ्ग्य साँझ हुनेछ ।