१५ चैत्र २०८०, बिहीबार
Follow Us

हडताल गरे चिकित्सकलाई कारबाही हुने

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार ०५:३७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द–हडताल नगर्न निर्देशन दिँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ । आमरण अनशनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलन घोषणा भएपछि मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्र पठाएको हो ।

मन्त्रालयका तर्फबाट सहसचिव मधुसूदन बुर्लाकोटीले जारी गरेको चिठीमा बर्खाको समय भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणलाई ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिईएको छ ।

मन्त्रालयले पत्रमा निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा आन्दोलनका नाममा बन्द–हडतालमा उत्रे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । पत्रमा बन्द–हडताल गरेको वा गराएको पाइए आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने जनाइएको छ । नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसम्मका चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।