६ चैत्र २०८०, मंगलवार
Follow Us

भानुजयन्ती र अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवश

नेपालब्रिटेन डट कम्
३० असार २०७५, शनिबार ०६:३१

सुरेन उप्रेती । अटवा क्यानडा ।

भानुजयन्तिलाई विश्व नेपाली भाषा र साहित्य दिवशका रुपमा मनाउने निर्णय भएको दिन अप्रिल ५ । यो दिन बिहिवार अप्रिल ५।२०१८ थियो । गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उप समिति २०१७-२०१९ को प्रथम बैठकले महत्व पूर्ण छ निर्णयहरु गर्यो । ती छवटै निर्णयहरु नेपाली भाषा र साहित्यलाई कसरी उच्च र अमर बनाइ राख्ने । हाँगाबाट टिपिएका फूलका थूँगा झैं भएर सन्सारका बिभिन्न कुनामा छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गाँसेर कसरी समेटने चिन्तामा नै केन्द्रित थिए । नेपाली भाषालाई गोडमेल गर्ने ।

आवश्यक्ता अनुरुप टेको र थाङग्रा लगाएर लहराउन फूल्न र फल्न वातावरण दिने बिषयका चिन्तन थिए । नेपाली वालवालिकाहरुलाई भाषा सिकाउन पाठ्यपुस्तक तयार गर्ने । नेपाली साहित्यका पुस्तकहरुलाई अन्य भाषामा रुपान्तरण गरी संसार भरी नेपाली भाषा र साहित्यलाई पुर्याउने ।साहित्यिक सम्मेलनहरु गर्ने । साहित्यकारहरुलाई प्रोत्साहन र सम्मानका लागि पुरस्कार कदर पत्रहरु प्रदान गर्ने । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई कालान्तरमा संग्रालयमा विकाश गर्न अध्ययन गरी पल गर्ने । अनि अर्को झनै महत्व पूर्ण निर्णय भनेको भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवशका रुपमा मनाउने निर्णय गर्यो ।

भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा रसाहित्य दिवशका रुपमा किन मनाउने भन्ने जिज्ञाशा उठ्न सक्छ । हो नेपाली भाषा र साहित्यमा योगदान गर्ने अरु थुप्रै द्धिग्गज साहित्यकारहरु छन् । नेपाली साहित्यका अनेक विधामा सयौंको सँख्यामा किताबहरु लेखेका पनि छन् । तर ती महान साहित्यकारहरुले साहित्य सृजना गर्ने अवशर त्यसबेला मात्र मिल्यो जुन वेला नेपाली भाषाले आफ्नो अस्तित्व जोगाउन सफल भएको थियो । जसरी पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएर रहेका राज्यहरुलाई जोडेर सिंगो नेपाल बनाए ।जसले गर्दा हामी आज गर्वका साथ नेपाली हौं भनेर शीर उच्च बनाएर भन्न सक्छौं । नत्र कहिले एउटा देशको त कहिले अर्को देशको उपनिवेश भएर शासकहरु सँगै राष्ट्रको नाम परिवर्तन गरेर बस्न बाध्य बन्नु पर्ने थियो । त्यस्तै गरेर यदी भानुभक्तले नेपाली भाषालाई जोगाउने जोड्ने र गोडने नगरेका भए हामी नेपालीहरु भाषा विहिन पहिचान विहिन र अस्तित्व बिहिन हुनु पर्ने थियो भन्दा अत्युक्ती नहोला । नेपालीहरुले हिन्दी उर्दू या अन्य भाषालाई भावना विनिमयको माध्यम बनाउन बाध्य बन्नु पर्ने थियो ।

नेपाली भाषाले बिभिन्न जातजाति र भाषीहरुलाई जोडेर राखेको छ । नेपाल सरकारले नेपालमा सन २०११ को जनगणना अनुसार १२३ मातृभाषाहरु वोलिने गरेको पाईन्छ । अरु कूल ४६ प्रतिशतले नेपाली भाषालाई नै मातृभाषाका रुपमा वोल्ने गरेको पाइन्छ ।
यदी नेपाली भाषा नभएको भए ती एक सय तेइस मातृभाषीहरु विचमा समन्वयको भाषा हुने थिएन । यो भनेको नेपाल भित्र रहेका टुक्रे राज्यहरु बिचमा समन्वय नहुनु जस्तै थियो । नेपाली भाषाले सबै जातिय भाषाहरुका विचमा पुलको काम गरेर भावना विचार र सोचलाई विनिमय गर्ने अवशर दियो । र हाल पनि यती धेरै भाषाभाषीहरुको पहिचान रहन सकेको हो । कुनै पनि सिङ्गो राष्ट्रबन्नका लागि विविध कुराहरुको आवश्यक्ता जरुरी हुन्छ । निश्चित भूभाग, जनसंख्या, भाषा , साहित्य संस्कृति र इतिहाँस आदि चाहिन्छ । कुनै पनि व्यक्तिको पहिचान दिने भनेको उसले वोल्ने भाषा हो । भाषा भित्र रहेका परंपरा कला संस्कृति यावतकुराहरुलाई जोगाइ राख्ने भनेको साहित्यले नै हो । साहित्यका विविध विधाहरु भाषाका मेरुदण्डहरु हुन ।

नेपाललाई विश्वसामू चिनाउने शशक्त क्षेत्र भनेको भाषा नै हो । भाषालाई बचाइ राख्ने र परिचित गराउँने साहित्य भएको हुनाले विश्व नेपाली साहित्य दिवश मनाउन लागिएको हो । साहित्यका पुस्तकहरु अन्यभाषामा अनुवाद गरेर हाम्रो पहिचानलाई विश्व सामू पूर्याउने । भानु भक्तनै नेपालका आदिकवि हुन । उनै देखि साहित्य र भाषाको जगेर्ना शुरु भएको हुनाले उनको जन्मदिनलाई नेपाली साहित्य दिवशका रुपमा विश्वभर एनआरएनको पहलमा मनाउन लागिगएको हो । भानुजयन्तिको उपलक्ष्यमा संसार भर नेपाली भाषा साहित्य दिवस मनाएर विश्वसामू नेपाललाई परिचित गराउँने । यसमा कथा कविता निवन्ध नाटक उपन्यास जस्ता कृतिहरुलाई विश्व सामू पुर्याउने उधेश्यका साथ यो निर्णय गरिएको हो ।

तनहुँको रम्घामा पण्डित कृष्णप्रसाद आचार्यका छोरा धनन्जय आचार्यकी धर्म पत्नीका कोखबाट १८७१ आषाड २९ गते जन्मिएका भानुभक्तको न्वारानको नाम भने देविभक्त थियो । धनन्जय आचार्य २८ बर्षको हुँदा पनि सन्तान भएनन् । त्यो समयमा बालविवाहको प्रचलन बिधमान थियो । १८ ।२० बर्षमा सबैका सन्तान भइसक्थे । अट्ठाइस बर्षको हुँदा समेत सन्तान नभए पछी उनले सूर्यको ब्रतलिएर सूर्य उपाशना गरे । बाह्रबर्ष पछी उनी ४० बर्षको हुँदा देवीभक्तको जन्म भयो । धनन्जयले सू्र्यको आराधना गरेर जन्मीएको हुनाले उनलाई भानुभक्त नाम राखियो । संस्कृत भाषामा सूर्यलाई भानु भनिन्छ । उनको वाल्यकाल शिक्षा दिक्षा भने हजुरबुबा पंण्डित कृष्णप्रसाद आचार्यबाट भयो । त्यसताकाका विद्वान र कृति फैलिएका पंण्डित कृष्णप्रसाद काँशीसम्म गएर पठन पाठन गर्दथे ।

उनका बुबा धनन्जय आचार्य पनि पढेलेखेका हुनाले खरदार भएर सरकारी जागिर खान्थे । भानुभक्तले हजुरबा सँगै काँशीमा गएर अध्ययन गर्ने अवशर प्राप्त गरे । त्यस अध्ययनको परिणाम श्वरुप संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भए । त्यो अनुवाद नै नेपाली भाषा लहराउँन र हराभरा हुन सफल भयो । सबै नेपालीहरुले रामायणका श्लोकहरुलाई घाँस दाउरा र मेलापात देखि पूजाआजा र विवाह आदिमा जाग्राम बस्दा रातभर रातभर गाउँन थालियो । भानुभक्तले रामायणको नेपाली अनुवाद सहित बधुशिक्षा भक्तमाला प्रश्नोत्तर रामगीता जस्ता कृतिहरु लेखेर नेपाली भाषाको जगबसाल्ने काम गरे ।

उनका फुटकर कविताहरु पनि विभिन्न परिवेशमा तुरुन्तै लेखेर सुनाउने गरेको पाइन्छ । घाँसीबाट प्रेरणा तारापतिलाई चिठ्ठी उधम् नगरी बस्नु हुन्न । कान्तिपुरी नगरी । महाराजलाई विन्तिपत्र जस्ता अनेक फुट्कर कविताहरु लेखेका थिए । उनको लोकपृय कृतिका रुपमा रामायण स्थापित भयो । यसले नेपाली भाषालाई पनि फलामेपिल्लरको रुपदिएर जगबसाई दियो ।मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यको जीवनी प्रकाशन गरे । भानुभक्तले लेखेका अरुकृतिहरुलाई पनि प्रकाशन गरेर नेपाली भाषा र साहित्यको आकाशलाई अझ फराकिलो र उज्वल बनाउने काम गरे । भानुभक्तलाई बहुसंख्यक नेपालीहरुमाझमा परिचित गराउन मोतीरामको ठूलो योगदान रहेको छ । यस पछी क्रमश नेपाली भाषा र साहित्यको पर्खालमा इटथप्नेकाम विभिन्न साहित्यकारहरुले गर्दै आउनु भएको छ । विसं २००३सालबाट शुरु हुँदै २०१० देखि बृहत र व्यापकरुपमा भानुजयन्ती मनाएको पाइन्छ। भानुजयन्तीलाई जोगाई राख्न र नेपालीभाषालाई अगाडि बढाउन धेरै साहित्यकारहरुको योगदान रहेको छ ।

ती धेरै साहित्यकारहरुका माझमा भानुभक्तलाई देशविदेशमा लिएर हिंड्ने साहित्यकारको नाम हो भवानी घिमिरे । भवानी घिमिरेले भानु मासिक पत्रिका प्रकाशन गर्ने देखि लिएर भानु बिशेशाङक समेत प्रकाशन गर्नु भएको थियो । यो लेखकले समेत भानुमासिकको कार्यकारी सम्पादक भएर उनै भवानी घिमिरे सँग भानुमासिकमा काम गर्ने अवशर प्राप्त गरेको थियो । भानुभक्तको जीवनी लेखेर दाजु नरेन्द्रराज प्रसाईले नेपाली साहित्य अर्को ईट थप्नेकाम गर्नु भएकोछ । साहित्य सेवामा समर्पित नइप्रकाशनबाट प्रकाशित उक्तकृतिले भानुको बारेमा विवादित बिषयहरुलाई छिनोफानो गर्ने काम पनि गरेको छ ।

विश्वव्यापी रुपमा भानुजयन्ती मनाएर नेपाली भाषा र साहित्यलाई चिनाउन प्रयाश भएको थियो । गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उप समितिले भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवशका रुपमा मनाउन सन्सार भरका ७८वटै शाखाहरुलाई र प्रत्येक शहरहरुलाई आव्हान गरी सकेकोछ । क्यानडाको राजधानी अटवा तथा टोरण्टो अमेरिकाका विभिन्न राज्यहरुमा र यूरोपका मस्कोलगायत बिभिन्न देश र शहरहरुमा स्थानिय साहित्यिक सँघ संस्था सँग समन्वय गरी भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवश मनाउँदै छ ।
नमन छ आदिकवि भानुभक्त आचार्यलाई ।