१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१४ नयाँ राजदूतको लिस्ट तयार हुँदै

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार १३:५४

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतका लागि ३० जनाको सूची प्रधानमन्त्रीलाई बुझाएको बताइन्छ । १४ मुलुकमा एकैपटक राजदूत चयन गर्ने निर्णयमा प्रधानमन्त्री ओली पुगेकाले मन्त्री ज्ञवालीले होमवर्क सुरु गरेका हुन् । स्रोतका अनुसार नेकपाभित्र पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले ६० र ४० को रेसियोमा भागवण्डा गर्ने बुझिएको छ ।

को-को बन्लान १४ राजदूत अहिले भन्न सकिने अवस्था छैन । किनभने सन्तुलन मिलाउँन अप्ठ्यारो छ । माथिल्लो तहमा एकीकरण भएको पार्टीको तल्लातहमा एकीकरण हुनै बाकी भएकाले समस्या देखिएको हो ।

केही मुलुकहरु थाइल्यान्ड, स्वीडेन, दक्षिण अफ्रिका, ब्राजिल स्वतः राजदूत पद रिक्त हुनपुगेको छ । भारत, मलेसिया र युएईमा राजदूत पद नै खाली छ । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका राप्रपा र कांग्रेसका कोटामा राजदुत बनेहरुलाई फिर्ता बोलाइने तयारी भएको छ । साउन महिनाभरिमा राजनीतिक र राजदूत पदपूर्ति गर्ने योजनामा ओली सरकार जुटिसकेको छ । त्यतिबेलासम्म खाली, खालीहुने र फिर्ता बोलाइने राजदूतहरुको संख्या बढी हुँदा केही पद क्यारियर डिप्लोम्याटलाई, अरु भागबण्डा गर्न सहज हुने र विवाद नहुने कारणले रणनीति बनेको हो ।

परराष्ट्रका पदाधिकारीहरुले अध्ययन प्रतिवेदन परराष्ट्रमन्त्री ज्ञवालीको टेबुलमा पु-याइसकेका छन् । यो प्रतिवेदनका अनुसार आधा कर्मचारीबाट र आधामात्र राजनीतिक नियुक्ती र त्यसमा पनि कूटनीतिक क्षमता र ज्ञान भएकालाई नियुक्ती गर्दा उचित हुने सुझाव उल्लेख छ । यो सुझाव पहिलेको सरकारले उल्लंघन गरेको थियो, अव त्यसो नहोस् भनेरै कर्मचारीहरुले मन्त्री ज्ञवालीको ध्यानकर्षणका लागि रिपोर्ट उनको टेबुलमा लगेर राखिदिएका हुन् । खाली हुने पदहरु क्यारियर डिप्लोम्याटका भएकाले पनि राजनीतिक नियुक्ती पाएकाहरुलाई फिर्ता बोलाउनै पर्ने बाध्यता सरकारसामु छ ।

कांग्रेसले नियुक्त गरेका श्रीलंकाका विश्वम्भर प्याकुरेल, वर्माका भीम उदास, दक्षिण कोरियाका अर्जुनबहादुर सिंह, कतारका रमेश कोइराला र बंगलादेशका चोपलाल भुसाल घरफिर्तीमा पर्नेवाला छन् । राष्ट्रसंघका प्रतिनिधि फिर्ता बोलाइए । तत्कालीन फोरमका गच्छदारको कोटाकी ओमनकी राजदूत शर्मिला ढकाल, राप्रपाका तीन स्पेनका भरत रायमाझी, जापानकी प्रतिभा राणा र इजरायलका निरञ्जन थापासमेत फिर्तीको सूचीमा छन् ।

यसरी खाली हुने र ९ राजदूत फिर्ता बोलाउदा कम्तिमा १५ र केही दूतावास थप गरिने सम्भाबना बढेकाले १८ राजदूतहरु एकैपटक नियुक्त हुनेवाला छन् । यसो भएमा क्यारियर डिप्लोम्याट र राजनीतिक भागबण्डामा सहज हुने र विवाद नहुने अवस्था कुरेका छन् प्रधानमन्त्री ओली । यद्यपि पूर्व माओवादी केन्द्र अर्थात प्रचण्डको सिफारिसमा पदम सुन्दास बहराइनमा, डा. महेन्द्र सिंह साउदी अरवमा, लक्की शेर्पा अष्ट्रेलियामा र लीलामणि पौडेल चीनमा कार्यरत छन् । तिनलाई फिर्ता नबोलाउने र प्रचण्डको कोटामा यिनलाई राखेर आफ्नो कोटामा धेरै राजदूत नियुक्त गर्नसक्ने बताइन्छ ।