१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्माण कम्पनी छनौट

sarusaru
३१ असार २०७५, आईतवार ०२:५१

दमौली, तनहुँ – व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनीको टुंगो लागेको छ ।

आयोजनाका इन्चार्ज विदुर अधिकारीले आयोजना निर्माणका लागि इटालियन कम्पनी सिएमसी र चाइनाको सिनो हाइड्रो निर्माण कम्पनी छनौट भएको र प्याकेज १ को ड्याम साइड निर्माणको जिम्मा सिएमसी र प्याकेज २ को पावर हाउस निर्माणको जिम्मा सिनो हाइड्रोले पाएको जानकारी दिनुभयो ।
निर्माण कम्पनी टुंगो लागेकोले अब ठेकेदार कम्पनीसँग सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ । ती ठेकेदार कम्पनीले छनौट भएको ९० दिनभित्र काम अगाडि बढाइसक्नुपर्ने उल्लेख गरिएको छ ।

सन् २०१८ बाट शुरु भई सन् २०२२ सम्ममा सक्ने लक्ष्य राखिएको सो आयोजनाका लागि लाग्ने रू ५० अर्बभन्दा बढी रकम जुटिसकेको बताइएको छ । आयोजना निर्माणका लागि जग्गा खरीद गर्दा ६५ करोडभन्दा बढी रकम प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ड्याम साइडमा अझै जग्गा अपुग भएको भन्दै बेतेनी क्षेत्रमा केही जग्गा अधिग्रहणको तयारीमा आयोजना लागेको प्राविधिकहरुले बताए ।
रासस