१४ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

sarusaru
३१ असार २०७५, आईतवार ०३:४२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ। त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो।

प्रा।अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो। विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन। ‘जमिनको विवरण तयार गरेका हौँ’ -त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले भने।

समितिलाई त्रिविको अन्य भौतिक सम्पत्ति खोज्ने अधिकार भए पनि हाललाई जग्गाको मात्र विवरण खोजिएको उक्त समितिका सदस्य सचिव निलमप्रसाद पोखरेलले बताए। २०७३ सालमा गठित सो समितिले २०७४ सालको अन्त्यमा प्रतिवेदन बुझाएको थियो। प्राडा खनियाले प्रतिवेदनमा भएको सुझाव कार्यान्वयन गर्दै जाने बताए।

तथ्यांकअनुसार त्रिवि र यस मातहतका क्याम्पस र निकायको अधीनमा १ हजार ४ सय ७८ हेक्टर अर्थात् १ करोड ४७ लाख ८८ हजार ७ सय ५४ वर्गमिटर जग्गा छ।

तीमध्ये १ करोड ३१ लाख ३६ हजार ९ सय ३१ वर्गमिटर जग्गा त्रिविको पूर्ण स्वामित्वमा रहेको छ। तथ्यांकअनुसार ९ लाख ९८ हजार ९ सय १६ वर्गमिटर जग्गा भोकाधिकार गरिएको छ। ६ लाख ५२ हजार ९ सय ३ वर्गमिटर जग्गा भोगचलन गरिएको वा आफ्नो स्वामित्वमा रहेको छ।

अनुगमन समितिले देशभरका सबै निकायमा अनुगमन गरी प्रश्नावली तयार गरेको थियो। ११ पन्ने प्रश्नावलीमा उल्लेख भएको विषय, लालपुर्जा, सम्पत्ति विवरण खुल्ने कागजात संकलन गरी जग्गाको विवरण तयार पारिएको समितिका सदस्य सचिव पोखरेलले बताए।

उपत्यकाका २२ क्याम्पस र निकायमध्ये भक्तपुर क्याम्पसको २६ हजार, सानोठिमी क्याम्पसको ९५ हजार २ सय ५७, पाटन संयुक्त क्याम्पसको २९ हजार ५ सय २१, पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको १ लाख ९९ हजार ४ सय ५०, थापाथली क्याम्पसको ३२ हजार १ सय ४०, नेपाल कमर्सको १० हजार ६ सय ८३ र ताहाचलको २५ हजार ७ सय ७७ वर्गमिटर जग्गा रहेको छ।

यस्तै पब्लिक युथको ११ हजार ५ सय १२, अमृत साइन्सको ११ हनार ४ सय १४, सरस्वतीको ५ हजार १ सय ५७, शिक्षण अस्पतालको ९८ हजार ६ सय ९१ , ललितकलाको ८ सय ९०, त्रिचन्द्रको ११ हजार २३, पद्मकन्याको १८ हजार ९ सय ७९, शंकरदेवको ५ हजार ६ सय ७५, रत्नराज्यको ४० हजार ६६, नेपाल लको ३ हजार ९ सय ५५ र विश्वभाषाको ४ हजार ६० वर्ग मिटर रहेको छ।

यी जग्गाको संरक्षण गर्न नयाँ योजनाको तयारी भइरहेको दावी गर्दै प्राडा खनियाले आ–आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण गर्न सबै क्याम्पस र निकायलाई निर्देशन दिइएको बताए।
नेपाल समाचार पत्र