८ बैशाख २०८१, शनिबार
Follow Us

जनयुद्धको गल्ती इतिहासले फैसला गर्नेछ : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
३१ असार २०७५, आईतवार १४:३४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा आफुहरुबाट भएका गल्तीको फैसला इतिहासले नै गर्ने बताएका छन् । विष्णु चौलागाईंको १५औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले इतिहासको अदालत धेरै शक्तिशाली हुने जिकिर गरे ।

जनयुद्धका क्रममा आफ्नो पार्टीबाट भएका कतिपय गल्तीहरुलाई केन्द्रको नीति र कार्यक्रमभन्दा बाहिरबाट भएको भनेर आफूले वक्तव्य दिएको स्मरण गर्दै उनले गल्ती गर्नेहरु लुक्न नसक्ने बताए । अध्यक्ष दाहालले बाँदरमुढे, बेथान र दोरम्बा घटनालाई बिर्सन नसकिने भन्दै ती घटनाका दोषीहरु कठघरामा उभिनैपर्ने बताए ।

‘हामीले गल्ती गरेको कुरालाई पनि इतिहासले खोतलखातल पार्छ र दूधको दूध, पानीको पानी नबनाएसम्म छाड्दैन,’ उनले भने । एमाले र माओवादीबीच भएको एकता एउटा वर्गलाई मन नपरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई कमजोर पार्न विभिन्न शक्तिहरु लागिपरेको दाबी गरे । आफुहरुबाट भएका सानातिना त्रुटिलाई समातेर जनतामा भ्रम छर्ने काम भइरहेको उनको भनाइ थियो ।