१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डन दूतावासमा च्यारिटी डिनर

नेपालब्रिटेन डट कम्
३१ असार २०७५, आईतवार २३:५६

लन्डन । नेपलिज वुमन्स असोसिएसन यूकेले एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । असोसिएसनले आइतबार लन्डनस्थित नेपाली दूतावासमा राधा पौडेल फाउण्डेसनको सहयोगार्थ वार्षिक च्यारिटी डिनर गरेको हो ।

बेलायती सांसद वीरेन्द्र शर्माले असोसिएसनले आर्थिक सहयोगमात्र होइन, महिलाका मुद्दा समेत उठाइरहेको बताए ।
मन्तव्यका क्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले मानवीय सहायतामा जुटिरहेको भन्दै संस्थाप्रति धन्यवाद दिए ।

कार्यक्रममा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटर र केन्जिंग्टन एण्ड चेल्सीका डेपुटी मेयर मोहम्मद बटले असोसिएसनको मानवीय सहायता सम्वन्धि कार्यको सराहना गर्दै शुभकामना दिए ।

कार्यक्रममा संस्थाकी महासचिव डा. सुधा श्रेष्ठले संस्था स्थापनाको उद्देश्य, यसका गतिविधि र हालसम्म गरेका विविध कार्यक्रमबारे जानकारी दिइन् ।

सन् २०१४ मा स्थापित असोसिएसनले हालसम्म चारवटा कफी मर्निंग, दुई क्राफ्ट फेयर, दुई च्यारिटी डिनर लगायत गतिविधि गरिसकेको छ । कार्यक्रममा असोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले स्वागत मन्तव्य दिंदै दूतावाससहित सहयोगी सबैमा आभार व्यक्त गरिन् ।

सदस्य प्रसुना कंडेलले राधा पौडेल फाउण्डेशनबारे ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । एक्सन वक्सकी समेत संस्थापक राधा पौडेल पेशाले नर्स, लेखिका एवं महिला अधिकारवादी हुन् । ‘खलंगामा हमला’ की लेखिका पौडेलले लोकप्रिय मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति समेत भएको थियो । कोषाध्यक्ष एवं गायिका सितु खरेल र संगीतकार डम्बर सुब्बाले गीत
संगीत प्रस्तुत गरे । प्रसुना कंडेलले नृत्य देखाइन् ।

डा. सुधा श्रेष्ठले सञ्चालन गरेको उक्त अवसरमा असोसिएसन कार्यसमितिको परिचय समेत गराइएको थियो । कार्यक्रममा संस्थाकी संरक्षक राजदूत पत्नी पुनम सुवेदी, बेलायतका लागि म्यान्मार राजदूतकी पत्नी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अन्य नेपाली डिप्लोम्याट्स, सोलिसिटर राजु थापा, डा. पारस सिंह लगायतको विशेष उपस्थिति थियो ।