११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किएको भोलिपल्टै अमेरिका जाने !

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार ०५:१०

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ ।भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ ।
भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेका छन् । ‘प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण तय भयो,’ बिहीबार बसेको मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, ‘भारत भ्रमणबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । हामी आवश्यक तयारी गरिरहेका छौँ ।’प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् ।
उनी विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लागेका हुन् । ‘परराष्ट्रमन्त्रीज्यू चार दिनअघि नै भ्रमण तयारीका क्रममा दिल्ली जानुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो ।प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्र मन्त्री महत दिल्लीमै सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण सकेर २ असोजमा स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जाने भएका छन् ।
प्रचण्ड २ असोजको बिहान भारतमा राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन् । प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए ।
– नयाँ पत्रिकामाबाट